• २ साउन २०८१, बुधबार

जबरजस्ती नसबन्दी गरिएका पीडितसँग माफी माग्दै जापानी प्रधानमन्त्री

blog

प्रधानमन्त्री फुमियो किशिदा

टोकियो, साउन २ गते । जापानका प्रधानमन्त्रीले बुधबार सन् १९४८  देखि १९९६ को बिचमा यूजेनिक्स कानुनअन्तर्गत हजारौं मानिसहरूलाई जबरजस्ती नसबन्दी गरिएकोमा पीडितहरूसँग माफी माग्नुभएको छ ।

“युजेनिक्स कानुन लागु गरेकोमा सरकारले ठुलो जिम्मेवारी बहन गर्नुपर्दछ’’, प्रधानमन्त्री फुमियो किशिदाले भन्नुभयो । “म सरकारको प्रतिनिधित्व गर्दै माफी माग्न चाहन्छु’’, उहाँले पीडितहरूको समूहलाई नमन गर्दै भन्नुभयो । 

किशिदाले पीडितहरूले क्षतिपूर्ति प्राप्त गर्ने नयाँ प्रावधान सुनिश्चित गर्ने वाचा गर्नुभएको छ ।

देशको सर्वोच्च अदालतले जुलाई ३ मा कानुनलाई असंवैधानिक घोषणा गरेको हो र उक्त कानुनको उजुरीमा २० वर्षको हदम्याद रहेको कारण केही पीडितहरूले क्षतिपूर्ति प्राप्त गर्न नसक्ने भएपछि प्रधानमन्त्रीले पीडितसमक्ष माफी माग्नुभएको हो ।

खराब गुणस्तरको सन्तानको उत्पादन रोक्ने उद्देश्यले मानसिक र शारीरिक अपाङ्गता भएका लगभग १६ हजार ५०० मानिसलाई यूजेनिक्स कानुनअन्तर्गत जबरजस्ती नसबन्दी गरिएको स्वीकार गर्दै सरकारले सन् २०१९ मा माफी मागेको थियो ।

अन्य ८ हजार ५०० मानिसलाई उनीहरूको सहमतिमा नसबन्दी गरिएको थियो । यद्यपि व्यक्तिहरूले सामना गरेको दबाबका कारण उनीहरू नसबन्दी गराउन बाध्य भएको वकिलहरूले बताएका छन् ।

सन् १९५३ मा जारी गरिएको सरकारी सूचनामा शारीरिक बल, एनेस्थेसिया वा झुक्याएर पनि नसबन्दी गर्न सकिने जनाइएको थियो ।

६० वर्षीया एक महिलाले १५ वर्षको उमेरमा आफू यो प्रक्रियाको सिकार भएको भन्दै सरकारसमक्ष मुद्दा दायर गरेपछि जापानी इतिहासको यो अँध्यारो अध्याय सन् २०१८ मा फेरि चर्चाको विषय बनेको थियो ।

सर्वोच्च अदालतको फैसलापछि सांसदहरूले नयाँ क्षतिपूर्तिको प्रावधानको अध्ययन गर्न थालेका छन् र  यस वर्षको अन्त्यमा संसदमा उक्त विधेयक पेश गर्ने लक्ष्य राखेको जिजी प्रेसले जनाएको छ । रासस/एएफपी