• १ साउन २०८१, मङ्गलबार

पहिरोले सडक अवरुद्ध, आवतजावतमा समस्या

blog

फाइल तस्बिर ।

मीना कँडेल

कावासोती, साउन १ गते । नवलपुरको पहाडी क्षेत्रको मुख्य सडकमा पहिरो पन्छाउने काम सुरु गरिएको छ । हुप्सेकोट गाउँपालिकाको समन्वयमा सरोकारवालाको संयुक्त टोलीले अनुगमन गरी पहिरो पन्छाउन सुरु गरिएको हो ।

पहाडी क्षेत्रलाई जोड्ने मुख्य राजमार्गका रूपमा रहेको दलदले–धौवादी सडक खण्डको पाङग्रेमा ठुलो पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो। सडक विगत दुई सातादेखि अवरुद्ध हुँदा आवतजावत गर्न कठिन भएको छ । बर्खाको समय होस् या हिउँदकाे पानी परेपछि नवलपुरको पहाडी क्षेत्रका ग्रामीण सडक अवरुद्ध हुँदा दैनिक हिँड्ने यात्रुहरुले सास्ती भोग्दै आइरहेका छन् । वर्षाका कारण सडक बिग्रिँदा नवलपुरका ग्रामीण सडकमा वर्षौं ठूला दुर्घटना हुने गर्छ ।

स्थानीय राजबहादुर रानाले पहिरोका कारण यस क्षेत्रमा चल्ने सार्वजनिक सवारी नियमित रुपमा चल्न सकेका छैनन् भने स्थानीयलाई अस्पताल जान र दैनिक उपभोग्य सामान ओसारपसार गर्न असहज भएको बताउनुभयो । उहाँले भन्नुभयो, दलदले–बुलिङ्गटार सडक खण्डको पाङ्ग्रेमा दिनहुँजसो पहिरो खसेपछि यस खण्ड भएर आवतजावत गर्नेले सास्ती भोग्नुपरेको छ । पाङ्ग्रेसँगै अन्य विभिन्न ठाउँमा समेत सानो सानो पहिरो खसिरहेकोले यस सडक खण्डमा यात्रा गर्न जोखिम भएको उहाँले बताउनुभयो ।

वौदीकाली गाउँपालिका ५ बोवकका ६५ वर्षीय सन्त वहादुर पाटा मगर हातखुट्टा नचलेर बिरामी पर्नुभयो । यातायात अवरुद्ध भएका कारण उपचारको लागि परिवार र स्थानीयले पाँच घण्टाको बाटो बोकेर सवारी चल्ने स्थानसम्म पुराएको हर्ष वहादुर रानाले बताउनुभयो । 

सडकको स्तर उन्नति गर्ने काम चलिरहेकाले भित्तो काट्ने र ग्राभेल बिछ्याउने काम चलिरहेकाले सानो पानी परेपछि सडक अवरुद्ध हुने गरेको छ। पहाडी क्षेत्रमा जाने सडक वर्षाको समयमा हरेक वर्ष महिनौँसम्म अवरुद्ध हुने गर्दछ । सडक अवरुद्ध भएर सवारी चल्न नसक्दा यस क्षेत्रका अर्खला, बुलिङ्गटार, धौबादी, डेढगाउँ, डाडाझेरी, रकुवा, रुचाङ्ग , भारतीपुर , मिथुकरम लगायतका हजारौं नागरिक प्रभावित भएका छन् । 

हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले पाङग्रेभिरको पहिरो मङ्गलबारदेखि सडक डिभिजन कार्यालय भरतपुरको समन्वयमा निर्माण कम्पनी मार्फत हटाउन सुरु गरिएको बताउनुभयो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले पहिरो गएको ठाउँमा पहिरो पन्छाएर सडक खुलाउन समन्वय भइरहेको बताउनुभयो । निरन्तर वर्षा भइरहेकाले काम गर्न गाह्रो भइरहेको उहाँले बताउनुभयो ।