• १ साउन २०८१, मङ्गलबार

सिसुवाखोला घटना अपडेट

मृतकको पोष्टमार्टम गाउँमै : घाइतेको हेलिकप्टरबाट उद्धार

blog

घाइतेलाई उद्धार गर्न पुगेको हेलिकप्टर । तस्बिरः नेपाली सेना

ध्यान कुलुङ

सङ्खुवासभा, साउन १ गते। सिलिचोङ गाउँपालिका १ सिसुवाखोलामा घरसँगै ढुङ्गाले किचेर मृत्यु भएका दुई जनाको गाउँमै पोष्टमार्टम हुने भएको छ। जिल्ला सदरमुकाम खाँदबारीबाट सुरक्षाकर्मी र चिकित्सक गाउँमै पुगेर पोष्टमार्टम गर्न लागिएको वडा नम्बर १ का अध्यक्ष अनिश कुलुङले जानकारी दिनुभयो।

मृत्तकको पोष्टमार्टम सिसुवाखोला स्वास्थ्य चौकीमा गर्न लागिएको हो। घटनास्थलबाट जिल्ला सदरमुकाममा रहेको अस्पताल आइपुग्न करिब एक दिन लाग्छ। बाढी पहिरोले सडक अवरुद्ध हुँदा शव सदरमुकाम पुर्‍याउन समस्या भएको हो।

मङ्गलबार बिहान करिब आठ सय मिटर माथिबाट खसेको ढुङ्गाले किचेर ४९ वर्षीया सासू मोतिमाया राई र २५ वर्षीया बुहारी समीक्षा राईको मृत्यु भएको हो। ढुङ्गाले लागेर ३२ वर्षीया छोरी रबिना राई गम्भीर घाइते हुनुभएको छ। 

घाइते रबिनालाई उपचारका लागि काठमाडौँ लगिएको छ। उहाँलाई उपचारका लागि काठमाडौँस्थित सशस्त्र प्रहरी अस्पताल, बलम्बु लगिएको सिलिचोङ गाउँपालिका अध्यक्ष भूपालराज मेवाहाङले जानकारी दिनुभयो।

मङ्गलबार बिहान साउने सङ्क्रान्ति मनाउन तयारी गरिरहेको बेला ६ जनामध्ये ३ जनालाई ढुङ्गाले किचेको वडा अध्यक्ष अनिश कुलुङले जानकारी दिनुभयो। ढुङ्गाले किचेको घर पूर्णरुपमा क्षतिग्रस्त भएको वडाध्यक्ष कुलुङले जानकारी दिनुभयो।

सिसुवाखोला जिल्लाकै उच्च पहिरो जोखिम क्षेत्र हो। चार वर्षअघि सिसुवाखोलाको बेसिन्दामा पहिरो जाँदा ११ जना बेपत्ता हुँदा १०४ परिवार विस्थापित भएका थिए।