• १ साउन २०८१, मङ्गलबार

‘कण्डक्टर’ले बस चलाउँदा.......

blog

बसको ठक्करबाट मृत्यु हुनुभएका ४१ वर्षीय लक्ष्मीप्रसाद सुब्बा । तस्बिरः नेपाल प्रहरी

झापा, साउन १ गते । झापाको कनकाई नगरपालिका–२ स्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका–५ का ४१ वर्षीय लक्ष्मीप्रसाद सुब्बा रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो । 

सोमबार बेलुका कनकाई–२ पवित्रा पेट्रोलपम्प नजिक पूर्वपश्चिम राजमार्गमा विराटनगरबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश१–०१–००१ख ३४२३ नम्बरको बसले बिर्तामोडबाट सुरुङ्गातर्फ जाँदै गरेको को१९प ६२८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । कण्डक्टरले बस चलाउँदा दुर्घटना भएको बसका चालक र सहचालकले प्रहरीसमक्ष बयान दिएका छन् ।

उक्त दुर्घटनामा सुब्बाको दाहिने खुट्टा भाँचिएको थियो भने टाउको र छातीमा चोट गम्भीर चोट लागेको थियो । घाइते उनको उपचारका क्रममा बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा राति ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रहरीले बस चालक इलाम माई नगरपालिका–८ का २२ वर्षीय सागर थुलुङ राई र सहचालक विराटनगर महानगरपालिका–२ का १९ वर्षीय दीपेश दर्जीलाई नियन्त्रणमा लिएको छ ।  बेलबारीबाट उक्त बस शिवसताक्षी नगरपालिका–६ का २७ वर्षीय बसका कण्डक्टर पुण्य सिटौलाले चलाई ल्याउने क्रममा दुर्घटना भएको जनाइएको छ ।