• ५ साउन २०८१, शनिबार

युवा पिँढीलाई सन्देश दिनेगरी काम गरौँ : सञ्चारमन्त्री गुरुङ

blog

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ । तस्बिर : सागर बस्नेत

काठमाडौं, असार ३१ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नयाँ आशा र उत्साहसाथ काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । मन्त्रीको जिम्मेवारीमा सोमबार पदभार ग्रहणपछि मन्त्रालयका कर्मचारीको स्वागत कार्यक्रममा उहाँले सो निर्देशन दिनुभएको हो । 

शासन व्यवस्था परिवर्तन भए पनि काम गर्ने शैली र तौर–तरिका पुरानै भएकाले परिवर्तन हुन नसकिरहेको चर्चा गर्नुहुँदै उहाँले भन्नुभयो, “सबै क्षेत्रमा अब नयाँ सोच, काम गर्ने शैली र तरिका चाहिन्छ । परम्परागत ढर्राले काम गरेर नयाँ परिवर्तन सम्भव छैन । हामीले मिलेर काम गरेर युवा पिँढीलाई नयाँ सन्देश दिनुपर्छ ।”


काम गर्ने कर्मचारीलाई प्रोत्साहन गर्ने स्वभावको मान्छे आफू भएको चर्चा गर्नुहुँदै मन्त्री गुरुङले भन्नुभयो, “लुकाएर छिपाएर काम गर्ने शैली मलाई आउँदैन, खुला दिलले, सफा हृदयका साथ काम गर्ने हो, राम्रो योजना र सोच लिएर आउनुस्, म बाट कुनै काममा बाधा हुँदैन, प्रोत्साहन मात्र हुन्छ ।” 

‘आयाराम गयाराम होइन’

नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले आफूभन्दा अघि पनि मन्त्रालयमा धेरै जना मन्त्रीको जिम्मेवारीमा आएर फर्किनु भएको भए पनि आफू उद्देश्यमूलक काम गर्नेगरी जिम्मेवारीमा आएको बताउनुभयो । विना योजना र उद्देश्य काम गर्दा कहीँ पुग्न नसकिने भन्दै उहाँले स्पष्ट योजना र उद्देश्य लिएर सामूहिक रूपमा काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । 

‘आया राम, गया राम’ म होइन, मन्त्रालयमामा जागिर खान मात्र आएको होइन, देश र जनताको पक्षमा कसरी सकारात्मक सन्देश दिनेगरी काम गर्ने भनेर जिम्मेवारीमा आएको छु । म जति दिन जिम्मेवारीमा रहन्छु असल नियतसाथ काम गर्छु, तपाईँहरूको साथ र सहयोग त्यसैगरी पाउँछु भन्ने विश्वास छ’ उहाँले भन्नुभयो, ‘राम्रोका लागि म धेरै राम्रो छु, नराम्रोका लागि नराम्रो पनि छु ।’  


‘बाज शैली अपनाउनु पर्छ’

नवनियुक्त मन्त्री गुरुङले काममा मन्त्रालयका कर्मचारीले बाज शैलीमा काम गर्नुपर्ने सुझाव दिनुभयो । “बाजको ठुँड (चुच्चो) र नङ्ग्रा ३० वर्षसम्म राम्रो काम गर्छ, त्यसपछि कमजोर भएर झर्न थाल्छ । ठुँड र नङ्ग्रा कमजोर भएपछि बाजले सिकार गर्न सक्दैन । पुरानो ठुँड र नङ्ग्रा लाई चट्टानमा घोटेर झार्छ र ६ महिनामा पुनः नयाँ पलाएपछि फेरि बलियो हुन्छ र थप ४० वर्ष सिकार गरेर बाँच्छ” मन्त्री गुरुङले भन्नुभयो, “मन्त्रालयमा पुराना र परम्परागत जनशक्ति छ । आफूलाई समयअनुसार बाजको शैलीमा प्रविधियुक्त बनाएर तिखारेर क्षमतावान् बनाउन सक्नुपर्छ ।”

सञ्चार मन्त्रालय अरूभन्दा संवेदनशील र जिम्मेवार मन्त्रालय भएको चर्चा गर्नुहुँदै मन्त्री गुरुङले सबै कर्मचारीलाई सोही संवेदनशीलतालाई ध्यान दिएर काम गर्न निर्देशन दिनुभयो । तीन क्षेत्रको विकास गर्ने मुलुक शक्तिशाली भएको बताउँदै उहाँले रेल, पेट्रोलियम पदार्थ र सूचना प्रविधिको विकास गर्न सक्ने देश नै शक्तिशाली भएको उल्लेख गर्नुभयो । नेपालको सोच पनि त्यस्तो हुनुपर्ने चर्चा गर्नुभयो । 


‘दुधझै पवित्र काम गरौं’

दुध सबैभन्दा पवित्र र पोषक तत्व भए पनि त्यसमा मिसावट र सही सदुपयोग गर्न नसक्दा दुध विष बन्नेगरेको उहाँले बताउनुभयो । दुधलाई पित्तलको भाँडामा राख्दा विष बनेजस्तै, कर्मचारीले खराब आचरण र सोच राखेर काम गर्दा अराजक र भ्रष्ट हुने गरेको उहाँले बताउनुभयो । 

“कर्मचारी सुपात्र बन्ने कि कुपात्र उसको कामले निर्धारण गर्छ, लक्ष्य स्पष्ट र चोखो छ भने परिणाम पनि असल र उच्चस्तरको आउँछ” मन्त्री गुरुङले थप्नुभयो, “सुशासन कायम गर्न अनुशासन र इमान्दारिता चाहिन्छ । अनुशासन हरेक ठाउँमा चाहिन्छ, चाहे खाँदा होस्, बस्दा होस् या काम गर्दा होस् । कर्मचारीले त्यसमा ध्यान दिनुपर्छ ।”

"कर्मचारीले विधि प्रक्रिया मात्र हेर्छन, त्यसले निकाल्ने परिणाम के हुन्छ भन्नेमा ख्याल गरेको देखिँदैन", उहाँले भन्नुभयो, “अध्ययन यसरी गरौँ कि त्यसलाई व्यवहारमा उतारौँ, किताबी किरो मात्र नहोऔँ । कर्मचारीले काम गर्दा पनि किताबी किरो हुनेगरी पढ्नुभन्दा व्यवहारिक ज्ञान र सीपमा ध्यान दिनुपर्छ ।”


‘अनावश्यक दौड नलगाऔंं’ 

सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले काम गर्दा उद्देश्य बोकेर मात्र गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । “शासन व्यवस्था परिवर्तन भयो तर युवालाई स्वरोजगार बनाउने गरी, रोजगारी दिनेगरी उपलब्धि गर्न सकिएको छैन । युवा जनशक्तिलाई नेपालमै रोक्नेगरी योजना र उद्देश्य बनाएर काम गरौँ” मन्त्री गुरुङले भन्नुभयो । 

“गाडीको पछाडि दौड लगाउने कुकुरको केही उद्देश्य हुँदैन, जुन गाडी देखे पनि पछाडि दौडन्छ तर केही प्राप्ति गर्दैन । कर्मचारी र हामी जोसुकैले काम गर्दा त्यो शैलीको दौड लगाउनु हुँदैन, उद्देश्य र स्पष्ट योजनासाथ परिणाम आउनेगरी काम गर्नुपर्छ”, मन्त्री गुरुङले थप्नुभयो, “मान्छे काममा रमाउन सक्नुपर्छ । उत्साहित हुनुपर्छ । हामीले हाम्रोभन्दा राम्रोलाई प्राथमिकता दिनुपर्छ ।” 


हरेक चुनौतीलाई अवसरको रूपमा लिएर काम गर्न उहाँले कर्मचारीलाई निर्देशन दिनुभयो । स्वागत कार्यक्रममा जसरी कर्मचारीमा उत्साह र खुसी देखियो, त्यसैगरी आफू मन्त्रालयमा रहुन्जेल सोही उत्साह र खुसीसाथ काम गर्न उहाँले निर्देशन दिनुभयो । देशमा राजनीतिक परिवर्तन भएजस्तै आर्थिक र सामाजिक रूपान्तरणका लागि काम गर्न उहाँले सबैमा आग्रह गर्नुभयो । 

मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले मन्त्री गुरुङलाई स्वागत गर्नुहुँदै मन्त्रीको मिसन, भिजन र योजनालाई सफल पार्नेगरी मन्त्रालयको तर्फबाट एक ढिक्का भएर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । मन्त्रालयमा केही जनशक्तिको अभाव रहेको र केही कानुन पनि बन्नेक्रममा रहेको जानकारी दिनुभयो । 

स्वागत कार्यक्रममा मन्त्रालयका कर्मचारी, सूचना तथा सञ्चार सम्बद्ध सङ्घ संस्थाका प्रमुख, सरकारी सञ्चार माध्यमका प्रमुख तथा पत्रकारको सहभागिता थियो । 

Author
लक्की चौधरी

उहाँ गोरखापत्र अनलाइनका उपसम्पादक हुनुहुन्छ ।