• १२ साउन २०८१, शनिबार

राष्ट्रिय सुरक्षा र द्रुतमार्ग निर्माण प्राथमिकतामा : मन्त्री राई

blog

रक्षामन्त्री मानवीर राई सिंहदरबारस्थित रक्षा मन्त्रालयमा पदबहाली गर्नुहुँदै । तस्बिर : रासस

काठमाडौँ, असार ३१ गते । रक्षामन्त्री मानवीर राईले राष्ट्रिय सुरक्षामा विशेष ध्यान दिँदै नेपाली सेनाको क्षमता अभिवृद्धि र काठमाडौँ–तराई–मधेश द्रुतमार्ग  समयमै सम्पन्न गर्ने विषय आफ्नो प्राथमिकतामा रहेको बताउनुभएको छ ।

सिंहदरबारस्थित रक्षा मन्त्रालयमा पदबहालीपछि सञ्चारकर्मीको जिज्ञासामा उहाँले राष्ट्रिय गौरवको आयोजना समयमै सम्पन्न गर्न आफूले हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले विपद्को प्रभाव वा क्षति कम गर्न जोखिम क्षेत्रको पूर्वानुमान तथा पहिचान गरी खोज, उद्धार र पुनःस्थपानका लागि तयारी अवस्थामा रहने सम्बन्धी प्रस्ताव स्वीकृत गर्नुभयो ।

उक्त निर्णयमा विपद् व्यवस्थापनमा संलग्न जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र सम्बन्धित स्थानीय तहलगायतका निकायसँग समन्वय तथा सहकार्य गर्ने विषय उल्लेख छ । विपद्बाट सृजना हुनेसक्ने असहज परिस्थिति कम गर्न खोज, उद्धार र पुनः स्थापनाका लागि आवश्यक हेलिकप्टर, सवारी साधना र सामग्री तयारी अवस्थामा राख्ने तथा दुर्गम क्षेत्रमा सुत्केरी हुन नसकेका महिलाको उद्धारका लागि प्रभावकारी समन्वय तथा तयारी गर्ने लगायतका विषय समेटिएको छ ।

कोशी प्रदेशको सोलुखुम्बु, माप्य दुधकोशी-२ मा वि.सं २०२७ मा जन्मिनुभएका राईले वि.सं २०४२ बाट राजनीतिक यात्रा प्रारम्भ गर्नुभएको हो । उहाँ वि.सं २०७९ मा सम्पन्न आम निर्वाचनमा सोलुखुम्बुबाट प्रतिनिधिसभामा निर्वाचित  हुनुभएको हो । वि.सं २०४६ पछि नेकपा (एमाले) जिल्ला कमिटी सदस्य, जिल्ला उपाध्यक्ष र उपसचिव हुँदै वि.सं २०७२ मा जिल्ला कमिटी अध्यक्षमा निर्वाचित हुनुभयो ।  हाल उहाँ पार्टी केन्द्रीय सदस्यको जिम्मेवारीमा हुनुहुन्छ । रासस