• १२ साउन २०८१, शनिबार

सडक दुर्घटनासम्बन्धी समस्या तत्काल समाधान हुनेगरी काम गर्छु : यातायातमन्त्री दाहाल

blog

नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल । तस्बिर : सुजन गुरुङ

काठमाडौँ, असार ३१ गते । नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक दुर्घटनासम्बन्धी समस्या तत्काल समाधान हुनेगरी काम गर्ने बताउनुभएको छ ।

देशभर सडक दुर्घटनाका कारण ठुलो जनधनको क्षति भइरहेका बेला उहाँले सोमबार सिंहदरबारमा पदभार ग्रहण गर्नेक्रममा सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

मन्त्री दाहालले विकास निर्माणको काम ठप्प भइरहेको उल्लेख गर्नुहुँदै त्यसलाई समाधान हुनेगरी काम गर्ने बताउनुभयो । उहाँले सडकसम्बन्धी नीतिलाई क्रमशः प्राथमिकताको आधार अघि बढाउने पनि बताउनुभयो ।

‘‘समस्याहरू धेरै छन् । सडक दुर्घटनाका कुराहरू हामीले दिनानुदिन भोगी रहेका छौँ । यो विषय हाम्रो मन्त्रालयसँग सम्बन्धित छ  । र सडक दुर्घटनालाई कसरी न्यूनीकरण गर्ने ? भन्ने विषय च्यालेन्जिङ विषय छ । त्यसलाई कुन ढङ्गले गर्नसक्छौ ? तपाईँहरूसँग छलफल गरेर समाधान गर्छौँ । अर्को राष्ट्रिय यातायात नीति क्याबिनेटमा पठाउने निर्णय गरेका छौँ । नीति निर्माण चाहिँ महत्त्वपूर्ण कुरा हो । जबसम्म नीति बन्दैन, तबसम्म हामीलाई काम गर्न सजिलो पनि हुँदैन ।,’’  मन्त्री दाहालले भन्नुभयो, ‘‘मन्त्री पहिलो पटक भए पनि मैले सांसदको रूपमा नीति निर्माणमा नै समय व्यतीत गरेको छु । त्यसले गर्दा सडकसँग सम्बन्धित हाम्रा कयौँ नीतिहरू छन् । त्यसलाई प्राथमिकताको आधारमा अघि बढाउँछौँ । अब विकास, निर्माणका कामहरू ठप्प भएका छन् । अगाडि बढेका छैनन् भनेर धेरै गुनासो छ । अब आफ्नो जिम्मेवारीमा त्यो आएको छ । त्यसको अवस्थाको बारेमा हामी मसिनो गरी हेर्नेछौँ । र त्यसलाई समाधान गर्ने कुरा क्रमशः गर्नेछौँ । र ठेकदारहरूले भुक्तानी पाएनन् भनेर सडकमा अवरोध खडा गरेको भन्ने सन्दर्भ पनि छ । त्यसको बारेमा पनि हामी छलफल गर्छौँ ।’’                                                         

मन्त्री दाहालले पदभार ग्रहण गर्ने क्रममा राष्ट्रिय यातायात नीति मन्त्रिपरिषद् बैठकले पेस गर्ने निर्णय गर्नुभएको थियो ।