• १२ साउन २०८१, शनिबार

व्यवस्थित सहरी विकास र सेवा प्रवाहलाई प्राथमिकतामा राख्छु : उपप्रधानमन्त्री सिंह

blog

नवनियुक्त उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह सोमबार मन्त्रालयमा पदभार ग्रहण गर्दै । तस्बिर : किरणराज विष्ट/रासस

काठमाडौँ, असार ३१ गते । नवनियुक्त उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नवगठित सरकारले राजनीतिक स्थिरता, व्यवस्थित सहरी विकास र सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको छ ।

सिंहदरबारस्थित सहरी विकास मन्त्रालयमा पदबहालीपछि सञ्चारकर्मीको जिज्ञासामा उपप्रधानमन्त्री सिंहले अस्थिरताबाट गुज्रिरहेको राष्ट्रिय राजनीतिलाई स्थिरता र स्थायित्व प्रदान गर्न संसदमा रहेका ठूला दुई दलबीचको सहमतिमा सरकार गठन भएको प्रतिक्रिया दिनुभयो ।

उपप्रधानमन्त्री सिंहले भन्नुभयो, “मन्त्रालयको काम, कर्तव्य र अधिकारको सीमाभित्र रही नेपालका सहरलाई जनताको चाहनाअनुरुप आधुनिक, सुविधाजनक र व्यवस्थित गर्नेतर्फ काम अघि बढाइने छ ।” विगतमा जनअपेक्षाअनुरुप काम भएन भन्ने गुनासालाई अन्त्य गर्न ठूला दल मिलेर बनेको वर्तमान सरकारले विशेष ध्यान दिने उल्लेख गर्दै उहाँले जनहितका काम र सेवाप्रवाहलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँ मन्त्रालय पुग्नुहुँदा सचिव मणिराम गेलाललगायत कर्मचारीले स्वागत गर्नुभएको थियो ।

विद्यार्थी राजनीतिदेखि उपप्रधानमन्त्रीसम्म
नेपाली कांग्रेसका सर्वमान्य नेता गणेशमान सिंह र मङ्गलादेवी सिंहका सुपुत्रका रुपमा सिंहको जन्म २०१२ वैशाख १ गते काठमाडौँमा भएको हो । विज्ञान विषयमा स्नात्तकोत्तर उहाँ  २०३० सालदेखि नेपाल विद्यार्थी सङ्घको राजनीतिमा प्रवेश गर्नुभएको थियो ।

नेपाली कांग्रेस काठमाडौँ जिल्ला कार्यसमितिको नेतृत्व गर्दै पार्टी केन्द्रीय सदस्य बन्नुभएका सिंहले नेपाली कांग्रेसको उपसभापति र महामन्त्रीको जिम्मेवारीसमेत सम्हाली सक्नुभएको छ । उहाँले यसअघि जनसङ्ख्या तथा वातावरण, स्थानीय विकास, भौतिक पूर्वाधार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समेत नेतृत्व सम्हाली सक्नुभएको छ । पछिल्लो समय नेता सिंह काठमाडौँ क्षेत्र नं १ बाट लगातार प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदै आउनुभएको छ । रासस