• १२ साउन २०८१, शनिबार

वैदेशिक रोजगारका क्षेत्रमा थालेका सुधार अभियानलाई निरन्तरता दिन्छु : श्रममन्त्री भण्डारी

blog

नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी मन्त्रालयमा सोमबार पदभार सम्हाल्दै । तस्बिरः सिर्जना राई/रासस

काठमाडौँ, असार ३१ गते । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले पदभार ग्रहण गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै मन्त्रालय पुगेर उहाँले पदभार ग्रहण गर्नुभएको हो । उहाँ यसअघिको सरकारमा पनि वि.सं २०७९ चैत १२ गते श्रममन्त्री नियुक्त हुनुभएको थियो ।

विभिन्न समयमा मन्त्री बन्दै आउनुभएका उहाँ १३औँ पटक मन्त्री बन्नुभएको हो । पदभार ग्रहणका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले अघिल्लो कार्यकालमा वैदेशिक रोजगारका क्षेत्रमा थालेका सुधारका अभियानलाई निरन्तरता दिने बताउनुभयो ।  

“वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित बनाउन र यस क्षेत्रका विकृति–विसङ्गति हटाउन मैले अघिल्लो कार्यकालमा सुरु गरेका नीतिगत प्रयासहरुलाई निरन्तरता दिनेछु”, उहाँले भन्नुभयो ।

मन्त्री भण्डारीले देशभित्र रोजगारको सुनिश्चिता गर्दै वैदेशिक रोजगारको बाध्यता अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले प्रत्येक पालिकाअन्तर्गतका रोजगार सेवा केन्द्रलाई ‘रोजगार हब’ बनाउनमा जोड दिने उल्लेख गर्नुभयो ।

“अहिले जुन स्थितिमा यो सरकार आएको छ, चुनौतीहरु छन् । यस अवस्थामा हामीले कुनै किसिमका नाटक र स्टन्ट गर्ने छुट छैन”, उहाँले भन्नुभयो, “हामीले इमानदारी र  अध्ययन नगरी, प्रतिफल दिन नसक्ने काम गर्‍यौँ भने त्यो हाम्रो असफलता हुन्छ ।”

मन्त्री भण्डारीको राजनीतिक यात्रा    
उहाँ महोत्तरी–२ बाट प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष निर्वाचित हुनुभएको हो । 

भण्डारीले वि.सं २०३२ मा नेपाल विद्यार्थी सङ्घमा आबद्ध भई विद्यार्थी राजनीति सुरु गर्नुभएको हो । २०३६ सालमा नेपाली कांग्रेसको पार्टी राजनीतिमा प्रवेश गर्नुभएका उहाँ बहुदलीय व्यवस्थापछि पञ्चायती राजनीतिसँग नजिक हुनुभयो ।

भण्डारी वि.सं २०५१ पछि पुनः कांग्रेसको राजनीतिमा सक्रिय हुनुभएको हो । वि.सं २०३८ र २०४३ मा राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित हुँदै उहाँको संसदीय यात्रा सुरु भएको थियो । वि.सं २०४४ मा पहिलोपटक स्थानीय विकास सहायकमन्त्री बन्नुभएको थियो । मधेस आन्दोलनपछि उहाँ मधेसी जनाधिकार फोरममा आबद्ध हुनुभयो । त्यसपछि राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको सदस्यको जिम्मेवारीमा रहनुभयो ।

२०५१ सालमा स्वतन्त्र र २०५६ मा कांग्रेसबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भण्डारी २०६४ सालको संविधान सभामा महोत्तरी–४ बाट मधेशी जनाधिकार फोरमका तर्फबाट निर्वाचित हुनुभएको थियो । उहाँ वि.सं २०३८ मा सुधारिएको पञ्चायती व्यवस्थामा भएको प्रत्यक्ष निर्वाचनमा निर्वाचित हुनुभएको थियो । त्यसयता उहाँ पटकपटक निर्वाचित हुँदै मन्त्री नियुक्त हुनुभएको छ ।

नेविसङ्घको राजनीति गर्ने क्रममा राजकाजसम्बन्धी मुद्दा लागेपछि उहाँ उहाँ २०३४ सालमा तीन महिना भारत निर्वासनमा बस्नुभएको थियो । २०५१ सालमा स्वतन्त्र सांसदका रुपमा निर्वाचित भण्डारीले २०५२ सालमा बिनाविभागीय राज्यमन्त्रीको जिम्मेवारी प्राप्त गर्नुभएको थियो । 

उहाँले वि.सं २०७० मा राष्ट्रिय मधेश समाजवादी पार्टी गठन गर्नुभयो । सोही वर्ष उहाँ संविधानसभा निर्वाचनमा पराजित हुनुभएको थियो । उहाँ २०७४ साल र २०७९ मा प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभयो । मन्त्री भण्डारीले गोरखा दक्षिणबाहु र संविधानसभा पदक प्राप्त गर्नुभएको छ । रासस