• १३ साउन २०८१, आइतबार

बाढीपहिराे पीडितलाई नौ लाखभन्दा बढी राहत वितरण

blog

पहिराेले अवरुद्ध सडक । फाइल तस्बिर ।

लीलाधर वली

घोराही, असार ३१ गते । दाङमा करिब डेढ महिनाको अवधिमा विपद्जन्य घटनामा परेर पाँच जनाको मृत्यु भएको छ । साथै ५८ घरमा क्षति पुगेको छ। वर्षा सुरु भएसँगै जिल्लामा राप्ती नदी, बबई नदी लगायतका अन्य खोलाले बगाउँदा पाँच जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा तीन पुरुष र दुई महिला छन् । 

जिल्लामा विपदबाट क्षति भएका परिवारलाई नौ लाखभन्दा बढी राहत वितरण गरिएको छ । विपद् कोषबाट जिल्लाका विभिन्न स्थानमा बाढी तथा पहिरोसँगै वर्षाका कारण घर भत्किएका पीडित परिवारलाई नौ लाख ६२ हजार सात सय ९० रुपियाँ राहत प्रदान गरिएको जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ । 

जसअन्तर्गत घोराही उपमहानगरपालिका २२ घर परिवारलाई दुई लाख ८० हजार सात सय ९० रुपियाँ, तुलसीपुर उपमहानगरपालिकामा २१ घर परिवारलाई चार लाख ८५ हजार, राजपुर गाउँपालिकामा पाँच घरलाई ७० हजार, दंगीशरण गाउँपालिकामा तीन घरलाई ४५ हजार रुपियाँ प्रदान गरिएको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्रका खरदार शम्भु आचार्यले जानकारी दिनुभयो । 

आचार्यका अनुसार बबई गाउँपालिकामा तीन घरलाई ३७ हजार, राप्ती गाउँपालिका, बङ्गलाचुली गाउँपालिका र शान्तिनगर गाउँपालिकामा पीडित १÷१ घरलाई १५-१५ हजार रुपियाँका दरले राहत प्रदान गरिएको छ । 

त्यसैगरी, जिल्ला विपद् व्यवस्थापन समितिले यस वर्ष मनसुन सुरु भएसँगै जिल्लामा विपद्जन्य घट्नाबाट धनजनको क्षति भएको र क्षति भएका व्यक्ति वा परिवारलाई राहत वितरण गर्न जिल्ला विपद् कोषमा न्यून रकम भएकाले राष्ट्रिय बिपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सिंहदरबार काठमाडौंसँग ५० लाख रुपियाँ माग गर्ने निर्णय गरेको छ । विपदमा परेर क्षतिको भौतिक संरचनाको मूल्याङ्कनको आधारमा राहत प्रदान गर्ने गरिएको केन्द्रले जनाएको छ ।