• १२ साउन २०८१, शनिबार

चन्दा सङ्कलन गरेर गाउँमा एम्बुलेन्स सञ्चालन

blog

लमजुङ, असार ३१ गते । यहाँ चन्दा सङ्कलन गरेर केही दिनदेखि एम्बुलेन्स सञ्चालन गरिएको छ । राइनास नगरपालिका-२ स्थित लालिगुराँस निर्माण क्लबको अगुवाइ तथा सगरमाथा आरोही नरेन्द्र शाहीको पहलमा चन्दा सङ्कलन गरेर भलायखर्क स्वास्थ्य चौकीमा ग १ झ ६९४ नम्बरको एम्बुलेन्स सञ्चालनमा ल्याइएको हो । 

क्बलका अध्यक्ष एवम् राइनास-२ का वडाध्यक्ष लक्ष्मण शाहीले चन्दा सङ्कलन गरेर उठेको रकमबाट गाउँमा एम्बुलेन्स सेवा सुरु गरिएको बताउनुभयो । एम्बुलेन्स खरिद गर्दा २० लाख १० हजार खर्च भएको बताउँदै एम्बुलेन्समा बत्तीसहित अन्य उपकरण जडान गर्दा चार लाख ३० हजार उहाँले जानकारी दिनुभयो ।

“स्थानीयसमेत रहनुभएका सगरमाथा आरोही शाहीको पहलमा अमेरिका निवासी एरिड हाइपियसले १५ हजार अमेरिकी डलर सहयोग गर्नुभएको छ । क्लबले विभिन्न व्यक्तिबाट चन्दा सङ्कलन गरेर एम्बुलेन्स खरिद गरेका छौँ”, वडाध्यक्ष शाहीले भन्नुभयो । २४ लाख ४० लाख खर्च भएको जनाउँदै २३ लाख सङ्कलन भएकामा बाँकी रकम स्थानीय नरेन्द्र शाहीले पछि क्लबबाट लिने गरी उपलब्ध गराउनुभएको उहाँले बताउनुभयो । 

भलायखर्क स्वास्थ्य चौकीको नामबाट एम्बुलेन्स खरिद गरेको क्लबले जनाएको छ । एम्बुलेन्स चालकका लागि सरोज भुजेललाई मासिक १५ हजार, एम्बुलेन्स चालक सुविधासहित रोजगारी दिइएको वडाध्यक्ष शाहीले बताउनुभयो । गाउँमा एम्बुलेन्स सञ्चालनमा आएपछि गम्भीर बिरामी पर्दा समयमै स्वास्थ्य चौकी तथा अस्पतालसम्म लैजान सहज भएको स्थानीय बताउँछन् । रासस