• १२ साउन २०८१, शनिबार

सुन्तला बगैँचा व्यवस्थापनबापत् किसानलाई अनुदान

blog

तस्बिर : रासस

गण्डकी, असार ३१ ग्ते । पोखरा महानगरपालिकाले किसानलाई सुन्तला बगैँचा व्यवस्थापन प्रोत्साहन कार्यक्रम अन्तर्गत २५ लाख अनुदान उपलब्ध गराएको छ । सुन्तला खेतीमा किसान आकर्षित गर्ने उद्देश्यले महानगरपालिकाले विगत पाँच वर्षयता अनुदान उपलब्ध गराउँदै आएको कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिनुभयो ।

उहाँका अनुसार पोखरा महानगरपालिकाको कृस्ती, निर्मलपोखरी, खाल्टे, मासपासटन, फेदीपाटनलगायत स्थानका दुई सय ८० किसानलाई अनुदान उपलब्ध गराइएको हो । महानगरपालिकाले सुन्तला बगैँचा व्यवस्थापनका लागि विभिन्न मापदण्ड बनाइ प्रतिबोट अधिकतम एक सय ५० का दरले १९ हजार छ सय ५२ बोटका लागि अनुदान वितरण गरेको उहाँले जानकारी दिनुभयो ।

अनुदान प्राप्त गर्न प्रत्येक बोटमा एक सय किलो प्राङ्गारिक मल अनिवार्य हाल्न ५०, बोडो पेष्ट गरेबापत् ४०, बोडो मिक्सचर स्प्रेबापत् ३० र बोटको वरपर बाक्लो छापो लगाएबापत् ३० गरी एक सय ५० प्रदान गरिएको हो । किसानबाट प्राप्त निवेदनका आधारमा मापदण्ड निर्धारण बनाइ उक्त मापदण्ड पूरा गरे नगरेको महानगरपालिकाको प्राविधिक टोलीले स्थलगत अनुगमन गरी अनुदान वितरण गरिएको कडरियाले जानकारी दिनुभयो । 

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरपालिकाले उत्पादनमा जोड दिँदै किसानलाई अनुदानमार्फत सहयोग गर्दै आएको जानकारी दिनुभयो । सुन्तलालाई असिनाको प्रभाव कम गर्न आर्थिक वर्ष २०८१÷०८२ मा महानगरपालिकाले ७० प्रतिशत अनुदानमा जाली उपलब्ध गराउने जनाएको छ । रासस