• १२ साउन २०८१, शनिबार

उपप्रधानमन्त्री सिंहद्वारा पदभार ग्रहण : अनुभवी र कुशल नेता

blog

सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्नुहुँदै उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह। तस्बिरः सुजन गुरुङ

काठमाडौँ, असार ३१ गते । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै पदभार ग्रहण गर्नुभएको छ । उहाँले सोमबार बिहान उपप्रधान तथा सहरी विकास मन्त्रीको रूपमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिनुभएको हो । 

उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री सिंह अनुभवी र कुशल नेता हुनुहुन्छ । विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका सिंह प्रजातन्त्रका योद्धा तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर लौहपुरुष गणेशमान सिंहका छोरा हुनुहुन्छ । 

उहाँले बुबाको राजनीतिक विरासतलाई कायम राख्दै आउनुभएको छ । नेपाली कांग्रेसका नेता सिंह काठमाडौँ क्षेत्र नम्बर १ बाट लगातार चौथो पटक विजयी सांसद हुनुहुन्छ । सिंहले गत निर्वाचनमा सात हजार एक सय ४० मत ल्याएर विजयी हुनुभएको थियो । 


सिंह उहाँका प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्रका उम्मेदवार रवीन्द्र मिश्रभन्दा एक सय २९ मतले अगाडि रहँदै निर्वाचित हुनुभएको थियो । 

सिंह यसअघि २०६४, २०७० र २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । 

कांग्रेसको साधारण सदस्य हुँदै राजनीतिमा प्रवेश गर्नुभएका सिंह नेपाली कांग्रेसको काठमाडौँ जिल्ला सभापति, केन्द्रीय सदस्य, निर्वाचित महामन्त्री र उपसभापतिसम्मको जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ। नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको सरकारमा सिंह उपप्रधानमन्त्री तथा स्थानीय विकास तथा सङ्घीय मामिलामन्त्री हुनुभएको थियो ।


वि.सं. २०१२ मा काठमाडौँको क्षेत्रपाटीमा जन्मनुभएका सिंहले स्नातकोत्तर तहसम्मको अध्ययन गर्नुभएको छ । सिंह २०३६ सालमा नेपाल विद्यार्थी सङ्घको सभापति हुँदै केन्द्रीय राजनीतिमा सक्रिय भूमिकामा रहनुभएको छ । सरल व्यक्तित्व भएका सिंह आफ्नो निर्वाचन क्षेत्रमा निरन्तर खटिएर जनताको सुख दुःखमा साथ दिने नेतामा पर्नुहुन्छ ।