अनिल पराजुली
हेटौँडा, असार ३१ गते । असार अन्तिमसम्म बागमती प्रदेशमा ७० प्रतिशतभन्दा बढी क्षेत्रफलमा धान रोपाइँ भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दिएको जानकारी अनुसार असार ३० गते आइतबारसम्म प्रदेशका १३ जिल्लामा ७० दशमलव ५९ प्रतिशत रोपाइँ सकिएको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय बागमती प्रदेशका सूचना अधिकारी अनुप अधिकारीका अनुसार प्रदेशको १३ जिल्लामा कूल एक लाख १४ हजार पाँच सय ६१ हेक्टर जमिनमा धान खेती हुने गरेकोमा असार ३० गते आइतबारसम्म जम्मा ७९ हजार २५७ हेक्टर क्षेत्रफल अर्थात् ७०.५९ प्रतिशत रोपाइँ भएको छ ।
उहाँले प्रदेशका १३ जिल्लामा सबैभन्दा बढी दोलखामा ८८ प्रतिशत रोपाइँ सकिएको जानकारी दिनुभयो । धान रोपाइँ हुने कुल क्षेत्रफल दुई हजार ८१४ हेक्टर रहेको दोलखामा अहिलेसम्म दुई हजार ४७६ हेक्टर क्षेत्रफलमा रोपाई भएको छ । यस्तै सबैभन्दाकम रोपाइँ धादिङमा जम्मा ५३ प्रतिशत मात्रै भएको छ । यहाँ ११ हजार ३०० हेक्टर जमिनमध्ये ६ हजार ४६ हेक्टर अर्थात् ५३ प्रतिशत जमिनमा धान रोपाइँ सकिएको हो ।
मन्त्रालयका बाली विकास अधिकृत सुदिप भुजेलका अनुसार काठमाडौँ जिल्लामा पाँच हजार ९२६ हेक्टर जमिनमध्ये ८५ प्रतिशत अर्थात् पाँच हजार ३७ हेक्टर क्षेत्रफलमा, भक्तपुरमा तीन हजार ७१९ हेक्टरमा ७३ प्रतिशत अर्थात् दुई हजार ७१५ हेक्टर, २४ हजार २४७ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने गरेको चितवनमा ७८ प्रतिशत अर्थात् जम्मा १८ हजार ८७८ हेक्टरमा रोपाइँ सकिएको छ ।
त्यस्तै मकवानपुर जिल्लामा नौ हजार ४५० हेक्टर जमिनमध्ये ७८ प्रतिशत अर्थात् पाँच हजार ८५९ हेक्टर क्षेत्रफलमा, नुवाकोटमा ११ हजार ६१२ हेक्टर जमिनमध्ये ६७ प्रतिशत अर्थात् सात हजार ७५८ हेक्टर जमिनमा धान रोपाइँ सकिएको छ । त्यस्तै प्रदेशको रसुवामा एक हजार ९३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेकोमा यसवर्ष ७२ प्रतिशत अर्थात् ७८३ हेक्टर जमिनमा धान रोपाइँ सकिएको छ ।
सिन्धुलीमा ११ हजार १८८ हेक्टर जमिनमध्ये ७२ प्रतिशत अर्थात् आठ हजार ५६ हेक्टर जमिनमा, रामेछापमा सात हजार ८५९ हेक्टर जमिनमध्य ६६ प्रतिशत अर्थात् पाँच हजार १८७ हेक्टर जमिनमा, काभ्रेपलान्चोकमा १० हजार १०८ हेक्टर जमिनमध्ये ७४ प्रतिशत अर्थात् सात हजार ४३३ हेक्टर जमिनमा र सिन्धुपाल्चोकमा आठ हजार ७८२ हेक्टर जमिनमध्ये ६५ प्रतिशत अर्थात् पाँच हजार ७०० हेक्टर जमिनमा धान रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका बाली विकास अधिकृत भुजेलले जानकारी दिनुभयो । बागमती प्रदेशमा पाँच लाख २८ हजार ९३८.८ हेक्टर खेतीयोग्य जमिन रहेको छ ।
 
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                