• १२ साउन २०८१, शनिबार

उदिपुर पहिरो रोकथाम गरिँदै

blog

लमजुङ,  असार ३१ गते ।  सङ्घीय सरकारको रु ११ करोड १९ लाख बजेटमा उदिपुर देउरालीडाँडा पहिरो रोकथाम सुरु गरिएको छ । डुम्रे बेँसीसहर सडक खण्डअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुरमा पहिरो रोकथामका लागि पर्खाल निर्माण सुरु गरिएको हो । 

डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयका सूचना अधिकारी किरण पोखरलेले हालसम्म ७० प्रतिशत काम सम्पन्न भएको जानकारी दिनुभयो । हालसम्म टेवा, पर्खाल, ग्याबिन जाली लगाइएको र मर्स्याङ्दी नदीमा ‘माइक्रो पाइल’ निर्माण भइरहेको उहाँले बताउनुभयो । 

उहाँका अनुसार मर्स्याङ्दी नदीबाट सडकसम्म एक सय मिटर उचाइ र ८० मिटर लम्बाइको ग्याबिन जाली लगाइएको छ । अब तीन सय मिटर सडक कालोपत्र र सडकमाथि ८० मिटर उचाइ, ७० मिटर लम्बाइको पहिरो ‘नेलिङ’ गर्ने काम बाँकी रहेको उहाँको भनाइ छ । 

फेवा कन्स्ट्रक्सन प्राइभेट लिमिटेड कास्कीले उक्त योजना ठेक्का लिएको छ । कार्यालयका अनुसार सो कम्पनीले विसं २०७९ चैत १० गते सम्झौता तथा चैत १७ गतेदेखि काम थालेको योजना आगामी पुस २९ गतेसम्ममा सम्पन्न गर्ने सम्झौता म्याद छ । मौसमले साथ दिएमा निर्धारित समयमा काम सम्पन्न हुने बताइएको छ । 

सो स्थानमा वि.सं. २०७८ असार १ गते र विसं २०७९ साउन ११ गते गएको पहिरोले सडक बगाएको थियो ।  सडक बगाएपछि लामो समयसम्म वैकल्पिक रूपमा नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने ट्र्याक खोलेर सवारी सञ्चालन भएको थियो । ४२ किलोमिटर लामो यस सडकको ठुलो पहिरोको रूपमा उदिपुर रहेको छ । यो सडक हुँदै बेँसीसहरबाट डुम्रे तनहुँ, काठमाडौँ, पोखरा, चितवन र बेँसीसहर साथै हिमाली जिल्ला मनाङ जाने यात्रुहरू यात्रा गर्ने गर्दछन् । छिमेकी जिल्ला तनहुँको डुम्रे बजारबाट विसं।२०२९ मा खन्न सुरु गरिएको यो सडक बेँसीसरहसम्म ४२ किलोमिटरसम्म जोड्न १५ वर्ष लागेको थियो । 

विसं २०४६ मा ट्र्याक खुलेसँगै विसं २०५२ देखि सिङ्गल लेनको कालोपत्र थालिएको थियो । चार वर्षमा ४२ किलोमिटर सडक कालोपत्र भएको थियो । त्यसयता सडक स्तरोन्नति र मर्मत हुनुको सट्टा बर्सेनि जाने पहिरोले सडक अवरुद्ध हुँदा यात्रुले हैरानी भोग्दै आएका थिए । रासस