• १२ साउन २०८१, शनिबार

अबुवाँ-बिर्दी-सेरा सडक ११ घण्टापछि सुचारु

blog

गुणबहादुर रोका

सुलीकोट, असार ३० गते । गोरखामा वर्षाका कारण अबुवाँ-बिर्दी-सेरा सडक खण्ड ११ घण्टापछि सुचारु भएको छ । बिहीबारदेखि परेको अविरल वर्षाका कारण अबुँव-बिर्दी-सेरा खण्डको भट्टाबेशीमा शनिबार बिहान ९ बजे गएको पहिरोलाई आइतबार बिहान ७ बजे पहिरो पन्छाएर सडक सुचारु गरिएको हो । 

५० मिटर माथिबाट खसेको पहिरोले सडक खण्डहरूमा ढुङ्गा, माटो र ठुला रुख पन्छाउन गोरखा नगरपालिकाको जेसिबी प्रयोग गरी ११ घण्टापछि सडक पूर्ण रूपमा सञ्चालनमा आएको गोरखा नगरपालिकाका-१३ का वडा अध्यक्ष मित्र कुमारी नेपालीले जानकारी दिनुभयो । उहाँका अनुसार यस सडक गोरखाबाट नजिक तनहुँ र लमजुङ जाने मुख्य सडक भएकाले पनि अवरुद्ध भएको केही समयमै सडक सञ्चालनमा ल्याउन नेपाली सेना, नेपाल प्रहरी, जनप्रतिनिधि र स्थानीयवासीको सहयोगमा बाटो खुलाइएको उहाँले बताउनुभयो । 

गोरखा नगरपालिकाको जेसिबी प्रयोग गरी पहिरो पन्छाउने काम सम्पन्न भएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो । एउटै सडकमा ३ ठाउँमा ठुलो पहिरो गएकाले सडक अवरुद्ध हुने पुगेको थियो । अवरुद्ध भएको सडक गोरखा नगरपालिका र पालुङटार नगरपालिकाको सिमानामा रहेको छ ।  

सडक सुचारु भएपछि गोरखा नगरपालिका, तनहुँको आँबुखैरेनी र पालुङटार नगरपालिकाबाट लमजुङको राईनस नगरपालिका आवतजावत गर्ने यात्रुवाहक सवारीसाधन सुचारु हुन थालेका जिल्ला प्रहरी कार्यालय गोरखाको प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो । 

बिहीबारदेखि परेको अविरल वर्षाका कारण गोरखाका ग्रामीण इलाकामा चल्ने सम्पूर्ण सवारीसाधनहरू गन्तव्यमा पुग्न नसकेको प्रहरीको भनाइ छ । जिल्लाका अधिकांश पालिकाहरूमा पहिरोका कारण विभिन्न स्थानमा अत्यधिक मात्रामा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।