• १३ साउन २०८१, आइतबार

नदी कटानका कारण जोखिममा हरदौनावासी

blog

वाणगांगा नदीले हरदौना गाँउतर्फ कटान गर्दै । तस्बिरः नारद कोहार

नारद कोहार
तौलिहवा (कपिलवस्तु), असार ३० गते ।
विगत केही दिनदेखि भएको वर्षाका कारण कपिलवस्तुको महाराजगञ्ज नगरपालिका– १० हरदौना गाउँ जोखिममा परेको छ । वाणगंगा नदीको कटानका कारण हरदौनाका बासिन्दा त्रसित बनेका हुन् ।

हरदौनासँगै यशोधरा गाउँपालिका– ८ खोरिया र कपिलवस्तु नगरपालिका–१२ अकबरपुर, गाउँका बासिन्दाहरु गाउँमा नदी बस्ने त्रासले रातभरी जाग्राम बस्न बाध्य भएका छन् ।

गाउँलाई सुरक्षित गर्न नदीको विभिन्न ठाउँमा बनाइएको पक्की तटबन्ध नदीले बगाएपछि अहिले गाउँमा जोखिम बढेको हो । यस वर्षको बाढीले सबैभन्दा जोखिम हदौनामा रहेको स्थानिय मंगरे धावीले बताउनुभयो । बाणगंगा नदी कटानसँगै सम्भावित बाढीको जोखिममा गाउँका बासिन्दा त्रसित बनेको उहाँको भनाइ छ ।

हरदौनाका विजय प्रताप गुप्ताले भन्नुभयो, ‘‘बाढी आउँदा हामीलाई कसरी ज्यान बचाउने भन्ने चिन्ताले सताउँछ । यहाँका साढे सात सय घरपरिवार नदी कटानको चपेटामा परेका छन् । गाउँमा नदी पस्न अब केही मिटर मात्र बाँकी छ ।’’

यस वर्षको बाढीले नदीको पश्चिमतर्फ गाउँ नजिकै सय मिटर कटान गरेको स्थानिय गुप्ताले बताउनुहुन्छ । हरदौनाका शिवपुजन गोडाइत र निरहु गोडाइतको घरमा नदी पसेपछि उनीहरुलाई सशस्त्र प्रहरीले उद्धार गरी अन्यत्र सुरक्षित स्थानमा सारेको छ ।

नदी कटानले हरदौनाका हजारौं बिगहाभन्दा बढी खेतसमेत नदीले बगर बनाएको छ । कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला विपद् सहायता कक्षका संयोजक भविश्वर घिमिरेका अनुसार हरदौनामा दुई वटा घर उच्च जोखिममा रहेको र त्यसलाई अन्तै स्थान्तरण गरिसकेको जानकारी दिनुभयो । उहाँले वाणगंगा नदी छेउ रहेको गाउँ बस्तीका बासिन्दाहरुलाई सजग रहन आग्रह समेत गरेको बताउनुभयो ।