• १२ मंसिर २०८१, बुधबार

पहिरोले शोकमा पुरुन्चौर

blog

पोखरा–१९, पुरुन्चौरमा पहिरोले भत्किएको घर। जहाँ पुरिएर छ जनाको मृत्यु भएको थियो। तस्बिर : गोरखापत्र

रमेश पौडेल/फडिन्द्र अधिकारी

लेखनाथ, असार २९ गते। पोखरा महानगरपालिका वडा नम्बर १९ पुरुन्चोर तल्लाकोटका बासिन्दा पवन परिवार घरनजिकैको विन्ध्यश्वरी माविमा कक्षा १० मा पढ्नुहुन्छ। बाआमाले ज्याला, मजदुरी गरी बहिनी प्रशन्ना र पवनलाई पढाउनुभएको थियो। कहिलेकाहीँ सुनेको र किताबमा पढेको पहिरोले परिवारै सखाप पारेपछि उहाँ अहिले सामूहिक तवरले काजकिरिया गर्दै हुनुहुन्छ। 

बिहीबार राति आएको पहिरोले उहाँको घरको नामोनिशान छैन भने विदेश रहेकी एक दिदीबाहेक घरका सबैको ज्यान गएको छ। ढुङ्गा, माटोले बनेको घर भत्किँदा बुवा कुलबहादुर, आमा मनकुमारी, हजुरआमा लक्षिमा, बहिनी प्रशन्न, दिदी प्रभा र भिनाजु अस्मित परिवारको मृत्यु भएको हो। 

विदेशमा रहेकी दिदी मुनासँग बोल्दै घरबाहिर निस्केको हुनाले उहाँको ज्यान भने जोगियो। घरै छेउमा बीभत्स र अकल्पनीय घटना देखेपछि हृदयाघात भएर छिमेकी ४६ वर्षीया राधिका परियारको समेत ज्यान गएको छ। 

विन्ध्यश्वरी माविका प्रधानाध्यापक श्रीराम आचार्य प्रशन्न कक्षा ८ की जेहेन्दार विद्यार्थी भएको सम्झनुहुन्छ। घरको आर्थिक अवस्था साह्रै दयनीय भए पनि पवन र प्रशन्ना दुवैले दुखजिलो गरी पढिरहेको उहाँले सुनाउनुभयो। 

“उनीहरूका बाआमा ज्याला, मजदुरी गर्थे। कहिलेकाहीँ बाजा बजाउन जान्थे। निगुरो, टुसा बेच्ने, ढुङ्गा खानीमा काम गरी जीविका चलाउँथे,” प्रधानाध्यापक आचार्य भन्नुहुन्छ, “प्रशन्ना निकै जेहेन्दार थिइन्। दाजुबहिनी दुवै अतिरिक्त क्रियाकलापमा समेत सक्रिय थिए। प्रशन्नाको मृत्युले स्कुल नै शोकमा छ।”

पहिरोले पवनका आफन्तमात्र लगेन, लत्ताकपडा, अन्नपात सबै सक्यो। अब यो परियारको घर बनाउने अर्को जग्गासमेत छैन। घरपछाडिको कान्लो भत्केर घरसम्म आइपुगेपछि माटो फाल्न जानुभएका प्रभा परियार र उहाँका श्रीमान् अस्मित पनि रहनुभएन।

अभिभावक सबै गुमाउनु भएका पवनको अभिभावकत्व पोखरा महानगरले लिने भएको छ। शुक्रबार पवनलाई भेटेर पोखरा महानगरका प्रमुख धनराज आचार्यले विपत्तिमा अभिभावक गुमाएका नागरिकको अभिभावकत्व महानगरले लिने वाचा गर्नुभयो। “अब उहाँको पढाइ, लेखाइ र गाँसबासको प्रबन्ध पोखरा महानगरले गर्छ। तत्कालै केही राहत पनि दिन्छौँ,” उहाँले भन्नुभयो। विपद्मा ज्यान गुमाएका परिवारका सदस्यलाई पचास हजारका दरले महानगरले राहत दिने भएको छ।

घटनापछि पुरञ्चौर नै शोकमग्न बनेको छ। पोखरा १९ का वडा सदस्य विकास आचार्यले बिहीबार राति घरमा नबस्न आग्रह गरिएको सुनाउँदै घटनापछि बस्ती नै शोकाकुल भएको उल्लेख गर्नुभयो।

“पहिरो आउन सक्छ, राति घर नबस्नू भन्दा हुन्छ भन्नुभएको थियो। राति त्यही बस्नु भएछ, पहिरोले परिवारले लग्यो,” उहाँले भन्नुभयो। मुसलधारे वर्षापछि आएको बाढी, पहिरोले देशकै ठुलो महानगर पोखरामा सबैभन्दा बढी क्षति भएको छ। बिहीबार राति र शुक्रबार बिहान आएका बाढी, पहिरोमा परी महानगरमा मात्रै १० जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन्। 


पोखरा–१९, पुरुन्चौरमा पहिरोले सात जनाको मृत्यु भएपछि शोकाकुल आफन्त र गाउँलेसँग पोखरा पोखरा महानगरका प्रमुख धनराज आचार्य लगायत। तस्बिरः गोरखापत्र


बाढी, पहिरोपछि उद्धार र राहतका लागि प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको नेतृत्वमा टोली खटिएको छ। तीन वटै सुरक्षा निकाय र उद्धारका विभिन्न सरोकारवालासँग मिलेर उद्धारका लागि काम गरिरहेको कास्कीका प्रहरी प्रमुख थापाले बताउनुभयो। “सबै सुरक्षा निकाय र सरोकारवालासँग मिलेर काम गरिरहेका छौँ,” उहाँ भन्नुहुन्छ, “राति विपद् हुँदा डोजर, एक्स्काभेटर लगायतका उपकरण उपलब्ध नहुँदा समस्या पर्ने गरेको छ।” 

जेठ २८ गते मनसुन सुरु भएपछि विपद्बाट कास्कीमा मात्र १६ जनाको मृत्यु भएको छ। वर्षा निरन्तर रहेकाले सेती आसपासको क्षेत्रका बासिन्दा र बाढी, पहिरो आउन सक्ने क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ।