• १२ मंसिर २०८१, बुधबार

अलपत्र १४ पर्यटकको हेलिकोप्टरमार्फत उद्धार

blog

तस्बिर : सुजन काफ्ले

सुजन काफ्ले
चरीकोट, असार २९ गते ।
 अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण अलपत्र परेका पर्यटकहरूको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । दोलखाको गौरीशङ्कर गाउँपालिकाको रोल्वालिङ क्षेत्रमा अलपत्र परेका १४ जनाको उद्धारका लागि हेलिकोप्टर पठाइएको थियो । शनिबार करिब ११ः३० बजेतिर गाउँपालिका अध्यक्ष विश्वास कार्कीसहितको टोली उद्धारका लागि हेलिकोप्टर लिएर चरिकोटबाट उडेका थिए । पर्यटकलाई हेलिकोप्टरमार्फत दोलखा सदरमुकाम चरिकोट ल्याइएको छ ।

रोल्वालिङमा फसेका १४ जनालाई हेलिकोप्टरमार्फत ल्याइएको र सो गाउँका स्थानीयहरूलाई खाद्यान्न सामान लगिएको गाउँपालिका अध्यक्ष विश्वास कार्कीले जानकारी दिनुभयो । बाढीले सोही ठाउँका स्थानीय बस्तीहरूमा पनि क्षति गरेकाले स्थानीयका लागि खाद्यान्न तथा राहत समेत लगिएको थियो ।

गाउँपालिकाको सो क्षेत्र भौगोलिक रूपमा पनि विकट क्षेत्र हो । सो क्षेत्रमा सडकको पहुँच पुगेको छैन । सडक नभएकाले पैदल मार्गमार्फत स्थानीयहरूले आवतजावत गर्ने गरिएकोमा पुल पनि भत्किएकाले हेलिकोप्टर मार्फत दैनिक उपभोग्य सामग्री लगिएको अध्यक्ष कार्कीले बताउनुभयो । केहिदिन रोल्वालिङ खोलामा आएको बाढीले पदमार्गको झोलुङ्गे पुल र फड्के खोला समेत बगाएको छ । सोही कारण च्छोरोल्पा घुम्न गएका पर्यटकसहित स्थानीयको टोलीबिच बाटोमै अलपत्र परेका थिए ।

एक हप्ता अगाडि गौरीशङ्कर गाउँपालिका–९ मा गएको पहिरोले बगाउँदा एक जना बेपत्ता भएका थिए । पहिरोमा परी बेपत्ता भएका जाङ्मु शेर्पा अझै फेला पर्नुभएको छैन । शेर्पाको खोजी भइरहेको दोलखा प्रहरीले जनाएको छ ।