• १२ साउन २०८१, शनिबार

भानु जयन्तीमा कविता प्रतियोगिता

blog

भानु जयन्तीको अवसरमा अन्तरविद्यालय कविता प्रतियोगिता सहभागीहरू। तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती

बर्दीबास, असार २९ गते । राष्ट्रिय विभूति एवं आदिकवि भानुभक्त आचार्यको २११ औँ जन्मजयन्तीको अवसरमा शनिवार बर्दिबासमा तेस्रो नगरस्तरीय अन्तर मावि कविता प्रतियोगिता सम्पन्न भएको छ । 

आदिकविको स्मृतिमा बर्दीबास हेल्प फाउण्डेसनले आयोजना गरेको प्रतियोगितामा नगर क्षेत्रका १६ वटा सामुदायिक विद्यालयका ४८ जना छात्रछात्रा सहभागी भएको प्रतियोगिता संयोजक सुमित्रा भट्टराईले बताउनुभयो । 

प्रतियोगितामा साहित्यकार प्रोल्लास सिन्दुलीय, माधव काफ्ले तथा मुकुन्द पौडेलसहित ३ सदस्यीय निर्णायक समिति गठन गरिएको छ । फाउण्डेसनका अध्यक्ष हिरा गौतमले निर्णायक समितिको सिफारिसमा  प्रतियोगितामा उत्कृष्ट हुने प्रथम, द्वितीय र तृतीयलाई क्रमशः १५ हजार, १० हजार र ७ हजार नगद पुरस्कार तथा प्रमाणपत्रको व्यवस्था गरिएको छ । सहभागीमध्ये सान्त्वना बापत १० जनालाई १्–१ हजार रुपियाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

बर्दीबास नगरप्रमुख प्रह्लाद क्षेत्री र आयोजक फाउण्डेसनका अध्यक्ष हिरा गौतमले आदिकविको तस्बिरमा माल्यार्पण तथा पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नुभयो । नगरप्रमुख क्षेत्रीले आदिकवि भानुभक्तले नेपाली भाषा तथा साहित्यको क्षेत्रमा गर्नुभएको योगदानको चर्चा गर्दै भाषा, साहित्य र संस्कृति सभ्यताको पहिचान भएकाले  संरक्षण, संवर्द्धनका लागि सबै एकजुट हुनुपर्ने बताउनुभयो । 

अध्यक्ष हिरा गौतमले फाउन्डेसनले नगरपालिकाको शिक्षा, साहित्य र समाज उत्थानको क्षेत्रमा गरेको योगदानको विषयमा चर्चा गर्नुभयो ।