• १६ भदौ २०८१, आइतबार

मानव बेचबिखनमा दोषी पाँच जनालाई जेल सजाय

blog

फाइल तस्बिर

मलेखु (धादिङ), असार २९ गते । १६ वर्षीया किशोरीलाई भारतमा लगेर बेचबिखनको प्रयास गर्ने समूहलाई मानव बेचबिखन तथा ओसार-पसार र सङ्गठित अपराधको कसुरमा जेल सजाय तोकिएको छ । 

दुई छुट्टाछुट्टै मुद्दामा आठ जना मध्ये तीन जनालाई सफाइ दिएको र पाँच जनालाई कसुर कायम गर्दै कैद, जरिवाना र पीडितलाई क्षतिपूर्ति दिने धादिङ जिल्ला अदालतका जिल्ला न्यायाधीश गोपालप्रसाद बाँस्तोलाको इजलासले शुक्रबार फैसला गरेको हो ।

फैसलाअनुसार धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-३ की २९ वर्षीया गीता न्यौपाने, काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका-६ का ३२ वर्षीया कविता बानियाँ (आचार्य) र सोलुखुम्बु जिल्ला नेचा सल्यान गाउँ पालिका-२ की ३३ वर्षीया कमला परियारलाई एउटा मुद्दामा १८ वर्ष नौ महिना र थप अर्को मुद्दामा १० वर्ष कैद र एक लाख ७५ हजार जरिवाना, पीडितलाई ५० हजार क्षतिपूर्ति दिन फैसलामा उल्लेख भएको जिल्ला अदालतका श्रेस्तेदार माधव भण्डारीले जानकारी दिनुभयो ।

अदालतले त्रिपुरासुन्दरी-१ का ३९ वर्षीय कोपिल दमै र त्रिपुरासुन्दरी-३ की ३९ वर्षीया कल्पना आलेमगरलाई जनही १५-१५ वर्ष कैद र एक-एक लाख जरिवाना गर्ने फैसला गरेको छ । मानव बेचबिखन अनुसन्धान ब्युरोको पहलमा १६ वर्षीय नेपाली किशोरीको वि.सं.२०७९ पुस २० गते भारतको दिल्लीस्थित मङ्गलबजार गल्ली नम्बर २, बापरुल्लाबाट उद्धार गरी एयर इण्डियाको जहाजद्वारा स्वदेश ल्याइएको थियो ।

मामाघरमा बसेर अध्ययन गर्दै आएकी किशोरी वि.सं.२०७९ मङ्सिर १५ गतेदेखि घर परिवार आफन्तको सम्पर्कमा नआएपछि उनको खोजतलास लागि प्रहरीलाई लिखित निवेदन दिइएको थियो । बालिकालाई तान्त्रिक बाबासँग भेटाइ तान्त्रिक बाबा खुसी भएमा अथाह पैसा पाउने भनी बालिकालाई प्रलोभन देखाएर भारत पुर्‍याएको अनुसन्धानबाट खुलेको छ ।

मामाघरमा बस्दै आएकी बालिकालाई भारत पुर्‍याउन उनकै नजिकको साथी र महिला संलग्न रहेको खुलेको छ । अभियुक्तहरूले ६० केजी तौल भएको, कम्तीमा उचाइ पाँच फिट चार इन्चभन्दा माथि भएको, शरीरमा कुनै प्रकारको दाग वा ट्याटु, कुनै अङ्गमा चोटपटक नभएको र रजस्वला नभएको बालिकाको खोजी हुने क्रममा उक्त बालिकालाई भेटाएको जनाइएको छ । 

किशोरीलाई २०७९ माघ २२ गते मुख्य तान्त्रिकलाई बुझाउने तयारी भइरहेको अवस्थामा बालिकाको उद्धार गरी स्वदेश ल्याइएको थियो । किशोरीलाई दिल्ली पुर्‍याएपछि घटनामा संलग्न पाँच जना एक महिना अघि नै नेपाल फर्केका थिए भने एक जना महिलाले किशोरीलाई साथमा राखेर पूजामा बस्न फरक-फरक तीन जना तान्त्रिक बाबासमक्ष भेटाउँदै आएको बताइएको छ । रासस