बिन्दु थापा
पाल्पा, असार २९ गते । तानसेन नगरपालिकाले १५ औँ अधिवेशनको दोस्रो बैठकबाट आर्थिक वर्ष २०८१/०८२ को नीति कार्यक्रम तथा बजेट पारित गरेको छ ।
पारित कार्यक्रमअनुसार शिक्षा, स्वास्थ्य पर्यटन र कृषिलाई प्राथमिकतामा राख्दै नगरपालिकाले नीति कार्यक्रम तथा बजेट पारित गरेको जनाएको छ । शिक्षा स्वास्थ्य पर्यटन र कृषिबाट समृद्धि हासिल गर्न यस्ता क्षेत्रलाई प्राथमिकतामा राखिएको नगर प्रमुख सन्तोषलाल श्रेष्ठले जानकारी दिनुभयो ।
गरिबी निवारणजस्ता कार्यक्रमदेखि नगर प्रमुखसँग पूर्वाधार समेत प्राथमिकतामा राखिएको छ । नगरप्रमुख श्रेष्ठले सार्वजनिक सेवा प्रवाह र सुशासन प्रवर्द्धन, पूर्वाधार विकास र पुँजी निर्माण, शिक्षामा गुणात्मक विकास, कृषि क्षेत्रको व्यावसायिकीकरण, बजारीकरण र आधुनिकीकरण, आयआर्जन र स्वरोजगार र मानव संशोधन विकास, वातावरण संरक्षण र विपद् व्यवस्थापन प्राथमिकतामा राखिएको बताउनुभयो ।
आर्थिक, सामाजिक विकासका साथै बहुवर्षीय योजना तथा चालु आर्थिक वर्षका अधुरा आयोजनालाई सम्पन्न गर्न प्राथमिकता बजेट विनियोजन भएको बताउनुभयो । तानसेन नगरपालिकाको आगामी वर्ष २०८१–८२ को वार्षिक नीति तथा कार्यक्रममा बजेट विनियोजन गर्दा बहुवर्षीय घर आँगनमै नगरप्रमुख, मेयर उत्कृष्ट उद्यमी व्यवसायी, नगर प्रज्ञा प्रतिष्ठान, उपप्रमुखसँग महिला स्वास्थ्य कार्यक्रम, नगरप्रमुख छात्रवृत्ति, महिलामैत्री सहरजस्ता लोकप्रिय कार्यक्रम तानसेन नगरपालिकाले ल्याएको छ ।
स्थानीय साधन स्रोत, सीप प्रयोग हुने एवं तत्काल रोजगारी सिर्जना गर्ने आयोजनाहरू छनोट गर्ने नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो । तानसेन नगरपालिकाले स–साना नगरस्तरीय र वडा स्तरीय योजनाको सङ्ख्या घटाउन निश्चित सिलिङ र मापदण्ड निर्धारण गरेको छ ।
त्यस्तै, बालमैत्री, वातावरणमैत्री, लक्षितवर्गमैत्री, स्थानीय शासन, दिगो विकास र विकासका साझा सवाललाई नीति तथा कार्यक्रममा प्राथमिकतामा राखिएको छ । नगरपालिकाको आन्तरिक आय, अन्तरसरकारी वित्त हस्तान्तरण, राजश्व बाँडफाँट तथा रोयल्टी रकमलाई यथार्थ विश्लेषण गरी समयसापेक्ष ढङ्गले नीति तथा कार्यक्रम तय गरिएको छ ।
सभामा वडा ९ का अध्यक्ष तथा लेखा समिति संयोजक राजेशकुमार अर्यालले आर्थिक वर्ष २०८०–८१ मा कुल बजेटको ८०.६९ प्रतिशत खर्च भएको प्रतिवेदन पेस गर्नुभएको थियो ।
नगर सभा सदस्य तथा जनप्रतिनिधिहरूले आर्थिक विकासको प्रमुख आधार नै कृषि तथा पशुपालन भएकाले तानसेन नगरपालिकाले कृषकहरूलाई कृषि पेसाप्रति विचलित हुने अवस्थामा कृषि क्षेत्रको विकासका लागि कृषक व्यवस्थापन, नवीनतम प्रविधि प्रयोग तथा सिप हस्तान्तरणका लागि तालिम तथा भ्रमण, उन्नत बिउँ, मल, पशुपन्क्षीको औषधी, खोप, पशु आहारा व्यवस्थापन, कृषि औजारजस्ता कार्यक्रमहरूको समुचित व्यवस्था गर्न सुझाव दिनुभयो ।