• १२ साउन २०८१, शनिबार

कविता

राष्ट्रिय निर्माणमा युवाको भूमिका

blog

राजन दास

नेपाल हाम्रो राष्ट्र नेपाली हाम्रो पहिचान ।

देशलाई जोगाउन युवाले गर्दै सिर्जनात्मक काम ।।

अलमस्त युवा हामी अब उठ्नुपर्छ सबै एक जुट भई ।

देश निर्माणका लागि पुरुषार्थ गर्नुपर्छ एक दिक्का रही ।।


प्रकृति झैँ परिवर्तनका संवाहक युवा हामी ।

बनौँ कर्मठ , क्रान्तिकारी , इमानदार र ज्ञानी ।।

युवाहरू नजागे मातृभूमि सङ्कटमा पर्दै छ ।

नेताहरू मिलीजुली देश बेच्ने विचार गर्दै छ ।।


समाजका युवाहरू रक्सी चुरोटमा हराए ।

आमाबाबा नखाऊ बाबु भन्दै दिनरात कराए ।।

आजका युवा तिमी भोलि देशको कर्णधार बन्नेछौँ ।

उल्लेखनीय काम गरी जन-जनको दिलमा बस्नेछौँ ।।


विदेश पलायन भए युवाहरू कति कति ।

युवा नै हुन राष्ट्रियका अमूल्य सम्पत्ति ।।

युवा मलहमपट्टि गर देशको घाउ निको पार्न ।

बुढापाका घरमा बसे अगाडि बद देशलाई सपार्न ।।


अब जागौँ युवा शक्ति देशको निर्माणमा ।

देश डुब्न लाग्यो अगाडि बद अभियानमा ।।

युवा देशका लागि विद्रोही बनी अगाडि सर्छन् ।

तर हन्टर खाई धुरु - धुरु रोई खाडीमा पर्छन् ।।


युवा भविष्यको खोजी खाडीमा न गर ।

आफ्नै देशमा पुरुषार्थ गरी देश कल्याणको काम गर ।।

जुटौँ सबै युवा हामी काँधमा काँध मिलाएर ।

देश विकास गर्न वीर बनी भरोसा दिलाएर ।।