• २ माघ २०८१, बुधबार

ढुङ्ग्रे खोलाको कटान तीव्र,पूर्व–पश्चिम लोकमार्गको पुल जोखिममा

blog

बर्दीबास समाचारदाता

बर्दीबास, असार २९ गते । अविरल वर्षाका कारण ढुङ्ग्रे खोलामा आएको बाढीले बर्दीबास–५ स्थित पूर्व–पश्चिम लोकमार्गको जङ्गली क्षेत्रमा पर्ने बेलगाछी पुल जोखिममा पारेको छ । खोलाले सडकको दायाँतर्फ तीव्र कटान गर्न थालेपछि पुल बाढीको उच्च जोखिममा परेको हो । 

तीव्र वेगको बाढीले लोकमार्ग नजिक चुरे र भाँवर क्षेत्रबाट बगाएर ल्याएको बालुवासहितको गेग्रानले खोलाको सतह उठाउँदै लगेकाले पुलमा दोहोरो जोखिम देखिएको छ । एकातिर तीव्र कटान भइरहेको छ भने अर्कोतिर गेग्रानले पुल र खोलाबिचको सतह एक मिटरभन्दा पनि कम पारेको छ । तत्काल सुरक्षाका उपाय नगरे पुल र खोलाको उचाइ समानान्तर अवस्थामा पुग्ने जोखिम बढेको प्राविधिकले जनाएका छन् । बिहीबार साँझदेखि बढेको बाढीले क्षति पु¥याउन थालेपछि बर्दीबासस्थित इलाका प्रहरीले पुलबाट एक पटकमा एउटा मात्र सवारी चल्न दिएको छ । बर्दीबास प्रहरीका डिएसपी रेवतीरमण पोखरेलले दुवैतर्फबाट एकैसाथ गाडी चल्दा कटानतर्फको सडक र पुल भासिन सक्ने जोखिम भएकाले पुलनजिक ‘वन वे’ गरिएको बताउनुभयो । पोखरेलको कमान्डमा पुल सुरक्षामा खटिएका प्रहरीले तत्काल ढुङ्गा हालेर कटान रोक्ने प्रयास गरे पनि तीव्र वेगको बाढीले सम्भव हुन दिएन । बिहीबार मध्यरातिदेखि चुरे क्षेत्रमा सुरु भएको वर्षा मध्याह्नसम्म पनि जारी रहेकाले ३८ मिटर लम्बाइको बेलगाछी पुलको जोखिम बढ्दै गएको हो । 

पुल सुरक्षाका लागि सडक डिभिजन कार्यालय मुजेलियाबाट तार जालीसाथ शुव्रmबार बिहान चार जना प्राविधिक टोली कटान क्षेत्रमा पुगे पनि अविरल वर्षा र बाढीले गर्दा अलमलमा परेको छ । टोलीसाथ कटान क्षेत्रमा पुग्नुभएका डिभिजन कार्यालयका सुपरभाइजर अभिमन्युकुमार साहले वर्षा र बाढी नथामिएसम्म काम गर्न नसकिने बताउनुभयो । साहले भन्नुभयो, “हामी तयारी अवस्थामा छौँ तर खोलामा जेसिबी जाने अवस्था नरहेकाले कटान नजिक छेको हाल्न र तारजाली भर्न तत्कालका लागि सम्भव देखिँदैन । यसो नगर्दासम्म कटान रोक्न पनि सकिँदैन ।” बढ्दै गएको बाढीले पुल पश्चिम तीव्र रूपमा साइड कटान गरिरहेकाले जोखिम बढ्दै गएको उहाँले बताउनुभयो । खोलाले थप क्षति गरेमा जङ्गली क्षेत्रमा पर्ने लोकमार्गको यो खण्ड आवागमन ठप्प हुने सम्भावना बढ्दै गएको छ ।