• १३ साउन २०८१, आइतबार

किसानको रकम फिर्ता गर्न नामियाको माग

blog

काठमाडौँ, असार २९ गते । नेपाल कृषि मेसिनरी व्यवसायी सङ्घ (नामिया) ले दैलेखको गुराँस गाउँपालिकाका कारण कृषि उद्यमीले आत्महत्याको प्रयास गरेको दाबी गरेको छ । 

नामियाले एक विज्ञप्ति जारी गरी सो दाबी गरेको हो । नामियाका सदस्यसमेत रहनुभएका कृषि उद्यमी देवेन्द्रप्रसाद अधिकारीले गत असार २० गते पालिका परिसरमा विष सेवन गरेर आत्महत्याको प्रयास गर्नुभएको थियो । विष सेवन गरेपछि तत्काल अस्पताल लगेपछि उहाँको ज्यान बचेको थियो ।

विज्ञप्ति अनुसार अधिकारीले नेपाल कृषि विकास फार्म प्रालि. कोहलपुर, बाँके र गुराँस गाउँपालिका, दैलेखबिच २०७५ चैत २६ गते सरकारी निजी साझेदारी नीति अनुसार ५१/४९ प्रतिशत साझेदारीमा आलु तथा फलफूलको बिउ, बिरुवा उत्पादन, ल्याब तथा हाइटेक नर्सरी स्थापनाका लागि सम्झौता गरी कृषि फार्म सञ्चालन गर्नुभएको थियो । 

सम्झौता अनुसार फार्मले लगानी गरेको तर २०७९ माघ २७ गते सो व्यवसाय गुराँस गाउँपालिका, दैलेखले एकलौटी सञ्चालन गर्ने र नेपाल कृषि विकास फार्म प्रालिको लगानी फिर्ता गर्ने भनी अर्को सम्झौता गरिएको थियो । 

सम्झौता अनुसार पालिकाले फिर्ता गर्नुपर्ने रकम फिर्ता नभएपछि अधिकारीलाई मानसिक तनाव भएको थियो । अधिकारीले असार २० गते पत्रकार सम्मेलन गरी सबै घटनाबारेमा जानकारी गराएर आत्महत्याको प्रयास गर्नुभएको थियो । 

नामियाका अध्यक्ष कृष्ण शर्माले प्रेस विज्ञप्ति जारी गरी आत्महत्याको प्रयास गर्न गाउँपालिकाले बाध्य बनाएको भन्दै त्यसको भर्त्सना गर्नुभएको छ । 

नामियाले सम्झौता अनुरूपको रकम यथाशीघ्र फिर्ता गर्न माग गरेको छ । साथै अधिकारीको जीवन रक्षाका लागि आवश्यक पहल गरिदिन पनि नामियाले आग्रह गरेको छ ।