• १२ मंसिर २०८१, बुधबार

वैदेशिक रोजगारीका लागि गएका एक सय सतहत्तरले ज्यान गुमाए

blog

गजेन्द्र गुरुङ

खजुरा, असार २८ गते । बाँकेबाट वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक गएका १७७ जना नागरिकले ज्यान गुमाएका छन् । जसमध्ये दुई जना महिला छन् भने १७५ जना पुरुष छन् । आर्थिक वर्ष २०६८/६९ देखि चालु आव २०८०/८१ को जेठसम्मको अवधिमा रोजगारीका लागि विदेश गएका १७७ जनाको विदेशी भूमिमै मृत्यु भएको हो । 

सुरक्षित आप्रवासन कार्यक्रम (सामी) अन्तर्गत आप्रवासी सूचना केन्द्रका सामाजिक परिचालन अधिकृत घनश्याम वलीले सामी कार्यव्रmम सञ्चालन भएयताको अवधिमा यति नागरिकको ज्यान गएको जानकारी दिनुभयो । उहाँका अनुसार यस आवमा मात्र २३ जनाको मृत्यु भइसकेको छ । वैदेशिक रोजगार बोर्डको तथ्याङ्कमा मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिकाका १८, खजुरा गाउँपालिकाका २५, वैजनाथ गाउँपालिकाका १५, कोहलपुर नगरपालिकाका १८, राप्तीसोनारी गाउँपालिकाका पाँच, नरैनापुर गाउँपालिकाका पाँच, डुडुवा गाउँपालिकाका छ र जानकी गाउँपालिकाका छ गरी ९८ जना छन् । 

मृतक बाँकी ७९ जना बाँके जिल्लाका भए पनि पालिका नखुलेको जानकारी उहाँले दिनुभयो । वैदेशिक रोजगार बोर्डमा आर्थिक सहायताका लागि बाँकेबाट उक्त सङ्ख्याका मृतकका परिवारले निवेदन दिएका हुन् । मलेसियामा ६१ जना कामदारको मृत्यु भएको छ । त्यसपछि साउदी अरबमा ५४ जना, कतारमा ३० जना, युएईमा १४ जना, युनाइटेड अरब इमिरेट्समा छ जना, कुवेतमा चार जना, बहराइनमा तीन जना, क्रोएसियामा दुई र अफगानिस्तानमा एक जनाको मृत्यु भएको उहाँले बताउनुभयो । 

नेपालमा मृत्यु भएका दुई जना भने श्रम स्वीकृतिभित्र नेपाल आएर मृत्यु भएका नागरिक रहेका छन् । क्यान्सर, कोभिडलगायतका विभिन्न रोगबाट ४९ जना, प्राकृतिक मृत्यु भएका ४१ जना, हृदयाघातबाट ३० जना, सडक दुर्घटनाबाट २३ जना, आत्महत्या गरेका १३ जना र अन्य कारणबाट ११ जना, कार्यस्थलमा दुर्घटनाबाट आठ जना र विविध कारणबाट दुई जनाको मृत्यु भएको जनाइएको छ । 

पछिल्लो समय आत्महत्या गर्ने सङ्ख्यामा वृद्धि हुँदै गएको पाइएको उहाँले बताउनुभयो । फेसबुक, युट्युबलगायत सामाजिक सञ्जालमा विदेश काम गर्न गएकामा घरपरिवारका बारेमा नकारात्मक सन्देश फैलाउने गरिएका कारण यस्तो घटना हुने गरेको बताइएको छ । 

घरपरिवारका विषयमा नकारात्मक विषयवस्तु राखिदिँदा विदेशमा रहेका नेपालीले आत्महत्या गर्ने गरेको पाइएको उहाँको भनाइ छ । पर्याप्त सूचना अभावका कारण विदेशमा मृत्यु भएका, घाइते भएकाका आफन्त विभिन्न सुविधाबाट वञ्चित हुने गरेका छन् । वैधानिक रूपमा श्रम स्वीकृति लिएर विदेश गएका नागरिकको मृत्यु भएमा सात लाख रुपियाँ वैदेशिक रोजगार बोर्ड र १४ लाख रुपियाँ बिमा कम्पनीबाट पीडितका परिवारले क्षतिपूर्तिबापत पाउने व्यवस्था छ । 

श्रम स्वीकृति लिएर गएका तर म्याद समाप्त भएकाको हकमा भने २५ हजार रुपियाँ मात्र पाउने व्यवस्था रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार काम गर्ने व्रmममा कामदारलाई कुनै रोग लागेर बिरामी भएमा वा अन्य कारणबाट घाइते भएमा सात लाख रुपियाँसम्म औषधी उपचार खर्च पाउने सुविधा छ । 

त्यसै गरी विदेश गएका नागरिकको घरका कोही सदस्य बिरामी भएमा समेत औषधी उपचार खर्च पाउने व्यवस्था छ । विदेश गएका नागरिकका नेपालमा रहेका घरपरिवारका सदस्यलाई क्यान्सर, मुटु, मिर्गौला, अल्जाइमर र पार्किन्सन गरी पाँच वटा रोग लागेमा ५० हजार रुपियाँसम्म उपचार खर्च उपलब्ध हुने व्यवस्था रहेको वलीले जानकारी दिनुभयो । विदेश जाँदा वैधानिक रूपमा अनिवार्य श्रम स्वीकृति लिएर जानुपर्ने, विदेशमा समस्यामा परेमा, मृत्यु भएमा, घाइते भएमा वैदेशिक रोजगार बोर्ड, आप्रवासी स्रोत केन्द्र, स्थानीय पालिकामा रहेका रोजगार सेवा केन्द्र तथा सम्बन्धित सरोकारवाला निकायमा तत्काल जानकारी गराई आफूले प्राप्त गर्ने सेवासुविधा लिनका लागि निवेदन दर्ता गराउनुपर्ने व्यवस्था छ । 

बाँकेमा यस वर्ष मृत्यु, अङ्गभङ्ग, कामदार बिरामी, परिवारका सदस्य बिरामीलगायतका लागि दुई करोड २८ लाख ७७ हजार ४४० रुपियाँ आर्थिक सहायता उपलब्ध गराउन सामीले सहजीकरण गरेको जनाएको छ । सामी कार्यव्रmम नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अन्तर्गत सञ्चालित छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारको नेतृत्वमा कार्यान्वयन भइरहेको छ । 

सो कार्यक्रमलाई स्विस सरकारका तर्फबाट प्राविधिक सहयोग हेल्भेटास नेपालले उपलब्ध गराएको सामीले जनाएको छ । नेपालमा २०६७ सालदेखि सुरु भएको सामी कार्यव्रmम ३८ जिल्लाका १५६ पालिकामा सञ्चालन भइरहेको छ ।

बाँकेको नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, वैजनाथ गाउँपालिका र खजुरा गाउँपालिकामा सामी सञ्चालनमा छ । जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय कोहलपुरमा राहदानी बनाउन आउने नागरिकलाई आप्रवासन सूचना केन्द्रबाट सूचना प्रदान र रिटर्नी स्वयंसेवकमार्फत घर भेटघाट गरी आमनागरिकलाई सूचनामा पहुँच पु-याउँदै आएको छ । त्यस्तै सिप विकास तालिम, न्यायमा पहुँच, कानुनी सहजीकरण, मनोसामाजिक परामर्श तथा वित्तीय सारक्षरता कक्षासमेत सञ्चालन गर्दै आएको सामीले जनाएको छ ।