• १५ मंसिर २०८१, शनिबार

चौध वर्षमा पनि बनेन चेपाङ मार्ग:पुल नबन्दा खोलामा बस

blog

शालिग्राम नेपाल 

चितवन, असार २८ गते  । चितवनबाट राजधानी जोड्न भण्डारा–मलेखु सडक निर्माण सुरु भएको १४ वर्ष पूरा हुँदासमेत सम्पन्न हुन सकेको छैन ।   पूर्वपश्चिम राजमार्गको भण्डाराबाट भित्री पहाडी क्षेत्र हुँदै पृथ्वी राजमार्ग अन्तर्गत धादिङको मलेखुसम्म जोड्ने मार्गलाई वैकल्पिक बाटोका रूपमा हेरिएको थियो । ट्र्याक खोलेर सुरु गरिएको यो सडक राष्ट्रिय आयोजनामा परे पनि पूरा भने भएको छैन । 

चितवन र धादिङका चेपाङ समुदायको बाक्लो बस्ती रहेको स्थान हुँदै  जाने मार्गलाई चेपाङ मार्गसमेत नामकरण गरिएको छ । चितवनको निर्वाचन क्षेत्र नंं १ बाट पृथ्वी राजमार्ग जोडिने यो सडक निर्माणका लागि तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डेले २०६८ सालमा सुरुमा बजेट निकासा गर्नुभएको थियो । 

त्यसपछि पाण्डे यसै निर्वाचन क्षेत्रबाट दुई पटक निर्वाचित सांसद हुँदा हरेक वर्ष १० करोड रुपियाँभन्दा बढी बजेट यस सडकका लागि विनियोजन भएको थियो तर अहिले बजेटको अभावमा मर्मतको काम पनि हुन सकेको छैन । बजेट नआएपछि काम गर्न नसकिएको डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी चन्देश्वर साहले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा दुई करोड ५० लाख रुपियाँ बजेट परेको थियो । त्यही बजेटले सात किलोमिटर बाटो फराकिलो र ग्राभेल गरिएको छ, अन्य काम हुन सकेको छैन । 

त्यही बजेट पनि निकासा नहुँदा निर्माण कम्पनीलाई दिन सकिएको छैन । “भुक्तानीका लागि कार्यालयमा कम्पनीका व्यक्तिले दबाब दिनुहुन्छ, सरकारले पैसा नपठाएका कारण हामीले भुक्तानी दिन सकेका छैनौँ,” उहाँले भन्नुभयो । 

६१ किलोमिटर बाटोमा मुस्किलले ११ किलोमिटर कालोपत्रे भएको छ । बाटो मर्मत, निर्माणको बाँकी काम गर्न बजेटको अभावले केही गर्न नसकिएको उहाँले जानकारी दिनुभयो । बजेट नभएपछि काम गर्न सकिएको छैन साहले भन्नुभयो, “मर्मतका लागि पनि बजेटको अभाव छ थप निर्माणको काम धेरै टाढाको कुरा भयो ।”

संविधान सभा सदस्य गोविन्दराम चेपाङले भन्नुभयो, “यो सडक निर्माण पूरा भएमा यस क्षेत्रका बासिन्दाको मात्र होइन, आर्थिक क्षेत्र चलायमान हुने छ । ठाउँँ ठाउँमा पर्ने खोला र खोल्सामा पुल निर्माण नहुँदा सवारीसाधन जोखिममा पर्ने गरेको छ । मलेखुसम्म बाटो छिचोले पनि राम्रोसँग यातायात सञ्चालन गर्न भने कठिन छ ।” लोथरखोला र अन्य केही खोलामा पुल निर्माण भएको छ तर साना अन्य खोलामा पुल नबन्दा बर्सातमा जोखिम मोलेर सवारीसाधन चलाउनु परेको उहाँले बताउनुभयो । 

भण्डारा–मलेखु सडकको थाकलटार नजिकै गोङरचोक खोलामा यात्रुवाहक बस गाडिएर डोजरले चलाउनु परेको थियो । सडक पूरा नहुँदा र पुल नबन्दा जोखिम मोलेर यात्रा गर्न बाध्य भएको चेपाङले बताउनुभयो । नेकपा एमाले उपाध्यक्षसमेत रहनुभएका पाण्डेले जनप्रतिनिधिले पहलकदमी लिन नसक्दा सडक पूरा नभएको बताउनुभयो । आफ्नो कार्यकालमा बजेट धेरै पारेर निर्माण कार्य जारी रहेकोमा अहिले सुस्त भएको उहाँले बताउनुभयो । 

निर्वाचन क्षेत्र नंं १ का सांसद हरि ढकालले बनिसकेको सडकमा भन्दा लोथर खोलाबाट मलेखुसम्म अर्को नयाँ ट्र्याक खोल्न बजेट निकासा भएकाले समस्या भएको बताउनुभयो । “थोरै बजेट भण्डारा–मलेखु चेपाङ मार्गमा परेको छ तर त्यसले काम ठुलो गर्न सकिँदैन, ठुलो बजेट नयाँ बाटो खन्नका लागि खर्च गरिएको छ जुन आवश्यक छैन,” उहाँले भन्नुभयो । 

चेपाङ मार्ग यस क्षेत्रको माभ नभई तराईसँग राजधानी जोड्ने वैकल्पिक मार्ग भएको राप्ती नगरपालिका प्रमुख शमशेर लामाले बताउनुभयो । पालिकाको तर्फबाट पहल भए पनि राष्ट्रिय योजनामा पर्ने भएकाले आफूले बजेट राख्न नसकिएको भन्दै यो सडक निर्माणले यस क्षेत्रमा आर्थिक क्रान्ति आउने नगरप्रमुख लामाले बताउनुभयो ।