• ४ जेठ २०८१, शुक्रबार

निर्वाचनले बहुमतको सरकार बनाउने आधार तयार गर्छ : प्रवक्ता डा. महत

blog

तस्बिरः सागर बस्नेत

ललितपुर, वैशाख १८ गते। सत्तारुढ दल नेपाली काँग्रेसका प्रवक्ता एवम् स्थानीय तह निर्वाचन प्रचारप्रसार समितिका संयोजक डा. प्रकाशशरण महतले निर्वाचनमा पार्टी र गठबन्धनका पक्षधर उम्मेदवारी ठूलो सङ्ख्यामा विजयी हुने दाबी गर्नुभएको छ। 

डा. महतले निर्वाचनले बहुमतका साथ सरकार बनाउने नयाँ आधार सिर्जना गर्ने बताउनुभयो। मनोनयन दर्तादेखि अन्तिम नामावली प्रकाशन गर्नेसम्मका निर्वाचनका प्रक्रिया सम्पन्न भएको छ। उम्मेदवारले प्रचार अभियान सुरु गरेका छन्। चुनावमा सहभागी हुन काँग्रेस उत्साही रहेको महतले बताउनुभएको छ। 

‘‘बहुमतको सरकार निर्माण गर्न यो निर्वाचन एउटा कोशेढुङ्गा सावित हुनेछ, अन्तर्राष्ट्रिय तथा राष्ट्रियस्तरमा यो सरकारलाई विश्वास प्राप्त भएको छ। हामी कुरा होइन, काम गर्छौं’’, डा. महत भन्नुहुन्छ, ‘‘त्यो बोटोमा देश जानुपर्छ, त्यो भयो भने मात्रै देश साँचो अर्थमा समृद्धिको बाटोमा उन्मुख हुनेछ।’’ 

वैशाख ३० गते हुने स्थानीय निर्वाचनको तयारी र गतिविधिबारे जानकारी गराउन आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले जनताको सबैभन्दा नजिकको स्थानीय सरकारको सुव्यवस्थापनका लागि काँग्रेसको नेतृत्व आवश्यक रहेको उल्लेख गर्नुभयो।

तालमेल गर्ने ठाउँमा पार्टीको निर्णय स्वीकार गरेर जिम्मेवारीपूर्ण तरिकाबाट उम्मेदवारी मनोनयन दर्ता गरिएको उहाँको भनाइ छ। उहाँले कतिपय ठाउँमा समझदारी र पार्टीकाे निर्देशनविपरीत उम्मेदवारी नदिन अनुरोध गर्नुभएको छ। 

विगतमा चुनावी प्रचारप्रसार छापा माध्यममार्फत जनताको बीचमा जाने गरेको भए पनि यो पटक विद्युतीय माध्यमबाट प्रचार अभियानलाई तीव्र बनाइएको उहाँको भनाइ छ। उहाँले यी माध्यमको उपयोग गर्दै निर्वाचन सम्बन्धित विभिन्न उपसमितिबाट अनुगमनको काम भइरहेको  बताउनुभयो। 

केन्द्रबाट पठाउने प्रचार सामग्री, स्थानीय प्रतिबद्धता, उम्मेदवारको आफ्नो परिचय, दृष्टिकोण सामाजिक सञ्जाल र अन्य नेटवर्कमार्फत भइरहेको उहाँ बताउनुहुन्छ।

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।