• १३ साउन २०८१, आइतबार

हात्तीबाट जोगाउन साइरनको व्यवस्था

blog

फाइल तस्बिर

गुलरिया (बर्दिया), असार २७ गते । भारतको कर्तनियाघाट वनविहार र नेपालको बर्दिया राष्ट्रिय निकुञ्ज जोड्ने अन्तर्राष्ट्रिय खाता जैविकमार्गको मध्वर्तीक्षेत्रका गाउँमा जङ्गली हात्तीबाट हुने धनजनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले हात्ती आएको सूचना प्रवाह गर्न साइरन जडान गरिएको छ । 

हात्ती प्रवेश गर्ने मार्गमा जडान गरिएको विद्युतीय तारबार हात्तीले छुने बित्तिकै जोडसँग साइरन बज्ने प्रविधि निर्माण गरिएको छ । साइरन बज्ने भएका कारण स्थानीय हात्ती आएको जानकारीसँगै सुरक्षित हुने अवसर पाउँछन् । मधुवन नगरपालिका-३ स्थित सशस्त्र प्रहरी सीमा सुरक्षा बल भगरैया (विओपी) परिसरमा हात्ती लगायतका ठुला जनावरबाट हुने क्षति न्यूनीकरण गर्न विद्युतीय तारबारसहितको साइरन जडान गरिएको डिभिजन वन कार्यालयका प्रमुख प्रवीण विडारीले बताउनुभयो । 

उहाँका अनुसार सम्झना सामुदायिक वन क्षेत्रमा जडान गरिएको विद्युतीय तारबारमा हात्तीको कुनै अङ्गले छोयो भने जोडसँग साइरन बज्ने भएकाले स्थानीयलाई सतर्क रहन मद्दत पुग्छ । साइरन बज्ने बित्तिकै सबै स्थानीय चनाखो हुने र सुरक्षित हुन ठुलो सहयोग पुग्दै आएको छ । खाता जैविकमार्ग क्षेत्रमा ३६ सामुदायिक र तीन धार्मिक गरी ३९ सामुदायिक वन छन् । त्यसअन्तर्गत पर्ने सम्झना र कमलपुर सामुदायिक वनमा एक हजार दुई सय ५० मिटर विद्युतीय तारबारमा साइरन फिट गरिएको खाता समन्वय समितिका अध्यक्ष हरि गुरुङ बताउनुहुन्छ । 

हात्ती आएको सूचना प्रवाह गर्न साइरन प्रभावकारी हुन्छ । यसै वर्षदेखि साइरन प्रविधि जडान भएकोले परीक्षणकै क्रममा रहने उहाँ बताउनुहुन्छ । खाता जैविकमार्ग क्षेत्रमा हात्ती-मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि मधुवन-५ गाउँ नम्बर १० शक्तिपुरमा स्थानीयको बालीनाली हात्तीले क्षति पुर्‍याउने भएकाले त्यसलाई धपाउँदै क्षति न्यूनीकरण गर्न पक्की मचान निर्माण गरिएको छ । कोरिडोर भएका कारण सो क्षेत्रमा भारतबाट समेत बेलाबेलामाा हात्तीको झुन्ड आउने गरेका छन् । 

डिभिजन वन कार्यालयको छ लाख ५० हजार र स्थानीय जनश्रमदान ७२ हजार गरी कूल सात लाख २२ हजारको लागतमा तीन तले पक्की मचान निर्माण गरिएको कार्यालयले जनाएको छ । पछिल्लो समय राष्ट्रिय तथा सामुदायिक वनको हैसियत सप्रियपछि वन्यजन्तुको चहलपहल बढेको छ । जङ्गल क्षेत्रमा वन्यजन्तु बढेसँगै मानवीय द्वन्द पनि उत्कर्षमा पुगेको पाइन्छ । 

डिभिजन वन कार्यालयका सहायक वन अधिकृत द्रोणराज शर्माका अनुसार २०७० सालदेखि २०८१ असार अन्तिम सातासम्म वन क्षेत्रमा विभिन्न वन्यजन्तुको आक्रमणमा परी २१ व्यक्तिको मृत्यु भएको र ४९ जना घाइते भएका छन् भने दुई सय ८१ पशुधन क्षति भएको छ । त्यस्तै ४२ जनाको घरगोठ क्षति तथा तीन सय ५९ को अन्नबाली क्षति भएको डिभिजन वन कार्यालयको तथ्याङ्कमा छ । रासस