• १५ मंसिर २०८१, शनिबार

आर्थिक विकास पहिलो प्राथमिकतामा

blog

रामेछाप समाचारदाता

रामेछाप, असार २७ गते  । रामेछापको सदरमुकामसमेत रहेको मन्थली नगरपालिकाले आर्थिक विकासलाई प्राथमिकतामा राख्दै आएको छ । मन्थली नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि नगरको आर्थिक विकासलाई पहिलो प्राथमिकतामा राखेर नीति, कार्यक्रम र बजेट बनाएको नगरपालिकाका प्रवक्ता गोपाल श्रेष्ठले बताउनुभयो । वडा नं. ८ का वडाध्यक्षसमेत रहनुभएका श्रेष्ठले भन्नुभयो, “आर्थिक विकासलाई पहिलो प्राथमिकता दिएको नगरले क्रमशः सामाजिक, पूर्वाधार विकास र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रलाई प्राथमिकतामा राखेको छ । नगरपालिकाले वातावरण तथा विपत् र न्यायिक क्षेत्रको विकासलाई पनि प्राथमिकताका साथ नीति तथा कार्यक्रममा समेटेर बजेटको व्यवस्थापन गरेको छ ।” 

नगरपालिकामा माध्यमिक तह घटुवा भई अध्ययन गरिरहेका विद्यार्थीहरू शिक्षाको मूल प्रवाहबाट बाहिर रहनुपर्ने अवस्था आएमा अध्ययनका लागि आवासको व्यवस्था गर्ने योजना बनाएको उहाँले बताउनुभयो । स्वास्थ्य सेवालाई अझै प्रभावकारी बनाउन सुत्केरीसँग उपप्रमुख, छोरी जन्मलाई प्रोत्साहन, किशोरीसँग नर्स, विद्यार्थीसँग स्वास्थ्यकर्मी, ज्येष्ठ नागरिकसँग घरदैलोमै स्वास्थ्यकर्मी र मेरो जिम्मेवारी मेरो स्वास्थ्य जस्ता कार्यक्रम सञ्चालन गरिने उहाँले बताउनुभयो । 

आगामी चैत मसान्तसम्म मन्थली नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका बनाउने गरी नगरपालिकाले नीति, कार्यक्रम र बजेटको व्यवस्थापन गरेको मन्थली नगरपालिकाका उपप्रमुख ईश्वरी बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो, “मन्थली नगरपालिकालाई २०८१ जेठभित्रै बालमैत्री स्थानीय शासनयुक्त बनाउने गरी लागेका थियौँ । भौतिक पूर्वाधार निर्माणलगायतका कारणले यो समयमा बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा हुन सकेन । आवश्यक बजेट विनियोजन गरिएको छ, अब चैतसम्म बालमैत्री स्थानीय शासनयुक्त नगर बनाउन लाग्छौँ ।” 

बालमैत्री स्थानीय शासनयुक्त नगर घोषण हुन बाँकी रहेका सम्पूर्ण कार्य पूरा गर्न साथै सामाजिक समावेशीकरण बालमैत्री कार्यक्रम लगानी योजनालाई सञ्चालन गर्न एक करोड ३५ लाख रुपियाँ बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो । 

मन्थली नगरपालिकाले बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गर्ने भन्दै चालु आवमा एक करोड रुपियाँ विनियोजन गरेको थियो तर हालसम्म एउटा वडा पनि बालमैत्री स्थानीय शासनयुक्त घोषणा हुन सकेको छैन । नगरले आगामी आवका लागि एक अर्ब एक करोड ९७ लाख ८१ हजार रुपियाँ बजेट ल्याएको छ । यो चालु आवको भन्दा दुई करोड ५७ लाख ११ हजार ८३७ रुपियाँले कमी हो ।

ठुला पूर्वाधार योजना प्राथमिकतामा

पूर्वाधार विकासलाई प्राथमिकीकरणको तेस्रो नम्बरमा राखेको यस नगरले अब बस्तीस्तरबाट माग भएका रोजगारी सिर्जना हुने, वातावरणमा कम असर पर्ने, स्थानीय जनसहभागिता जुट्ने र थोरै लगानीमा धेरै जनसङ्ख्यालाई फाइदा पुग्ने पूर्वाधारका योजनालाई जोड दिने नगरप्रमुख लव श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “नगरले ‘नगर वडा साझेदारी, विकास निर्माण बराबरी’ नीति लिएको छ । यही नीति अनुसार हरेक वडाबाट प्रस्ताव भएका २० लाख रुपियाँभन्दा माथिका एउटा ठुला पूर्वाधार योजना सञ्चालन गर्न नगरले थप २० लाख रुपियाँ बजेटको व्यवस्था गर्ने छ ।” 

आगामी आवमा नगरभित्र भइरहेको विकास निर्माणको गुणस्तर मापनका लागि नगरपालिकामा प्रयोगशाला स्थापना गरिने नगरप्रमुख श्रेष्ठले बताउनुभयो । कार्यालय भवन निर्माण हुन बाँकी वडाहरूमा सङ्घीय सरकारको सहयोगमा भवन निर्माण गरी वडा कार्यालयलाई सुशासनमैत्री सूचना प्रविधिसहित थप उपयोगी बनाइने नगरप्रमुख श्रेष्ठको भनाइ छ । 

नगरप्रमुख श्रेष्ठले नगरको फोहोरमैला व्यवस्थापनका लागि प्रशोधन केन्द्र (ल्यान्ड फिल्ड साइट) स्थापनाका लागि प्रव्रिmया अगाडि बढाइने भन्दै फोहोरको स्रोतमै वर्गीकरण गरी दैनिक उठाउने र विसर्जन गर्ने व्यवस्था मिलाउने योजना रहेको बताउनुभयो ।