• १० मंसिर २०८१, सोमबार

टुक्रिएको युवा मन

blog

जोस र ऊर्जाका पर्याय हुन् युवा । जोस र ऊर्जाले मात्र देश निर्माण गर्न सकिन्छ । दुःखको कुरा, देशका जोस र ऊर्जा दिनहुँ बाहिरिँदै छन् । अनि कसरी बन्नु देश । उमेर छँदा युवा आफ्नो ज्ञान, सिप र श्रम विदेशमा पोख्न बाध्य छन् । बिदेसिएका युवाले पठाएको विप्रेषणले हामी दङ्ङ त छौँ तर देशको अर्थतन्त्रबारे त्यति चिन्तित हुन सकेका छैनौँ । देश बनाउन युवालाई विदेश पठाउने होइन, युवाले उत्पादन गरेका वस्तु चाहिँ विदेश पठाउनु पर्छ । नेतृत्वले यो कुरा कहिले बुझ्ने ? 

कतिपय प्रसङ्गमा देशभरका धेरै युवा साथीसँग भेट भइरहन्छ । भेटमा कसैले पनि देशमै बसेर केही गर्नु पर्छ भन्ने आशा गरेको देखिँदैन । सबैले निराशा मात्र व्यक्त गरिरहेको पाइन्छ । देशमा लगानीमैत्री वातावरण नभएको, सरकारले सुरक्षित लगानीको प्रत्याभूति दिलाउन नसकेको, अनावश्यक करका दर थुपारिएकोलगायत थुप्रै गुनासा सुनिन्छन् । यसबाट प्रस्ट हुन्छ कि युवाको टुक्रिएको मनलाई राजनीतिले सम्बोधन गर्न सकिरहेको छैन । त्यसैले उनीहरू नेपालको राजनीतिसँग असन्तुष्ट छन् ।

देशका विभिन्न क्षेत्रमा स्थायित्व नहुनुको कारण राजनीतिक अस्थिरता हो । विधिको शासनमा समस्या भएमा त्यसको असर चौतर्फी पर्छ । लामो सङ्घर्षपछि प्राप्त संविधानले लोकतान्त्रिक सङ्घीय गणतन्त्रात्मक शासन व्यवस्था गर्यो तर यस शासन पद्धति र यसका सञ्चालकबाट नागरिक कति सन्तुष्ट भइरहेका छन् भन्ने कुराको हेक्का पनि उत्तिकै ख्याल राख्नु पर्छ । युवा चाहना अनुसारको नेतृत्व आजको माग हो । बौद्धिकता, इमानदारी र नैतिकता नभएको नेतृत्वले कहिल्यै पनि सुशासन र समृद्धि ल्याउन सक्दैन । त्यो खडेरी यतिबेला प्रस्टै देखिन्छ । 

१० बर्से सशस्त्र युद्धले आक्रन्त मुलुक शान्ति प्रक्रियामा आइसकेपछि विकासमा फड्को मार्ने धेरै नागरिकको चाहना थियो तर नेपाली राजनीति झन्डै २० वर्ष नागरिकले आशा गरे अनुरूपको विकास गर्न नसकी त्यसै बित्यो । विकास र समृद्धि मृगतृष्णा मात्र बन्यो । हालै आएर मुलुकका दुई ठुला राजनीतिक शक्ति नेपाली कांग्रेस र नेकपा (एमाले) एकै कित्तामा उभिएका छन् । अब उनीहरू संविधानमा देखिएका असन्तुष्टि सम्बोधन गर्दै देश विकासमा तल्लीन हुनु पर्छ । यो वा त्यो बहाना देखाउने छुट उनीहरूलाई अब छैन । युवाले खोजेको देश, समृद्ध परिवेश नै आजको आवश्यकता हो । अर्को कुरा नयाँ शक्तिको नाममा उदाएका राजनीतिक दलहरूको अवस्था पनि त्यति विश्वसनीय देखिँदैन । 

वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७९-८० मा विदेश जाने युवाको सङ्ख्या सात लाख ७१ हजार ३२७ छ । यसरी बर्सेनि लाखौँ युवा बिदेसिने हो भने बालबालिका र वृद्धवृद्धाको देश मात्र हुने छ । एक पटक मानिस बिदेसिएपछि उसलाई समयमै स्वदेश फर्काउन गाह्रो हुन्छ । देशभित्र पर्याप्त रोजगारीको अवसर नै नहुनु युवा बिदेसिनुको प्रमुख कारण हो । नत्र आफ्नो परिवार, आफू जन्मेको माटो छोडेर पराइ भूमिमा श्रम बगाउन कसलाई पो रहर हुन्छ र ? जीवन धान्ने रोजगारीको अवसर सिर्जना नहुनु, राजनीतिक अस्थिरता र सङ्क्रमण नटुङ्गिनुले देशको अवस्था बदलिने र सर्वसाधारण नागरिकको जीवनस्तर सुध्रिने विश्वास हराउँदा यस्तो अवस्था आएको कुरालाई कुनै पनि नेतृत्वले नकार्न सक्दैन होला ।

अर्थतन्त्रमा मन्दी छ । गरिखाने वर्ग चरम निराशामा छ । २०६२-६३ सालको जनआन्दोलनपछि देशले विकासमा फड्को मार्ने धेरैको विश्वास थियो तर त्यस्तो हुन सकेन । २०६२-६३ सालयता मात्रै करिब ५८ लाखभन्दा बढी युवा श्रम स्वीकृति लिएर विदेश गएको सरकारी तथ्याङ्क छ । यो भारतबाहेक तेस्रो मुलुक पुगेका नेपालीको 

सङ्ख्या हो । योभन्दा ठुलो सङ्ख्या त भारतमा मात्र छ । अहिले मलेसिया, साउदी अरेबिया, कतार, युएई, कुवेत, ओमान, बहराइन, दक्षिण कोरिया नेपालीका प्रमुख श्रम गन्तव्य हुन् । विकासका चरणमा रहेका खाडी मुलुकले नेपाली अदक्ष र सस्तो जनशक्तिको लाभ उठाइरहँदा हामीले युवासँगै धेरै कुरा गुमाइरहेका छौँ ।

यस्तो अवस्थामा अब युवा नेतृत्वको भूमिका के भन्ने प्रश्न उठ्छ । सधैँ अरूलाई गाली गरेर मात्रै हुँदैन । त्यसैले अब विकास र युवा हितका सवालमा हामी विभाजित हुनु हुँदैन । राजनीतिक आस्था र दल फरक होला तर हाम्रो उद्देश्य एउटै बन्नु पर्छ । युवा हितका पक्षमा काम गर्न र सरकारलाई दबाब दिन हामी एक ठाउँमा आउनुको विकल्प छैन । माटो सुहाउँदो युवा नीतिका लागि निरन्तर सङ्घर्षको आवश्यकता छ । युवा देशको मात्रै नभएर राजनीतिको पनि मेरुदण्ड हो । युवा जागे भने सरकार र राजनीतिक दल पनि सही बाटोमा आउँछन् । देशका सबै परिवर्तनमा युवाले अग्रमोर्चामा उभिएर भूमिका खेले झैँ अब आफ्नो उत्थानका लागि पनि युवाले निर्णायक मोर्चाबन्दी गर्न आवश्यक छ ।

राजनीतिक दलका लागि युवा कर्मशील माहुरीजस्ता बनेका छौँ । दलका शीर्ष नेतालाई रानो झैँ ठान्छौँ । त्यसैले नेताहरूलाई देशको विकास र संरक्षण गर्नुका लागि युवाले नै घचघच्याउनु पर्छ । कर्म नै नगरी सत्तामा बस्ने नेतृत्वलाई युवाले खबरदारी गर्नुपर्ने आवश्यकता छ । राजनीतिमा लागेका युवा प्रयोग मात्र हुनु र अन्य क्षेत्रका युवा बिदेसिनुले देश कसरी बन्ला र ? युवाले पनि आफ्नो नेतृत्व र सङ्गठनप्रतिको अतिवादी विचार त्यागेर समृद्धिको सेतु बन्न सक्नु पर्छ । 

अहिले उच्च प्रविधिको युग हो । युवालाई प्रविधिसँग जोड्दै लैजानु पर्छ । कृषिमा पनि प्रविधिकै प्रयोग गर्नु पर्छ । युवालाई राज्यका सबै क्षेत्रमा कसरी सही सदुपयोग गर्ने भन्ने नीति निर्माण गर्नु पर्छ । युवाको सही सदुपयोगका लागि उनीहरूलाई आत्मनिर्भर तुल्याउनु पहिलो उपाय हुन सक्छ । युवालाई आत्मनिर्भर तुल्याउन सरकारले बिनाधितो युवामैत्री ऋण लगानीको प्याकेज ल्याउनु पर्छ ।

उद्यम, व्यवसायमा अनावश्यक कर लाद्नु हुँदैन । बजार सुनिश्चितताको प्रत्याभूत गर्न सक्नु पर्छ । मुलुकमा पैसा नभएको होइन, त्यसको सही सदुपयोग गर्न मात्र नसकिएको हो । त्यसैले पहिलो त मुलुकको अर्थतन्त्र चलायमान गराउनु पर्छ । कांग्रेस र एमालेको समीकरणले यति गर्न सक्यो भने युवालाई स्वदेशमै रोक्न र नेपाल निर्माण गर्न कुनै कठिनाइ हुने छैन । युवाको राजनीतिप्रति गुम्दै गएको विश्वास पनि फर्किने छ ।

Author

भीमकुमार गौतम