• २० असोज २०८१, आइतबार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सम्भावना खोजिँदै

blog

सोमबार पोखरामा सरोकारवालासँग अन्तरक्रिया गर्दै सार्वजनिक लेखा समितिले बनाएको उपसमितिका सदस्यहरु । तस्बिरः फडिन्द्र अधिकारी

फडिन्द्र अधिकारी

लेखनाथ, असार २४ गते । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएको लामो समयपछि यसको सम्भावनाको खोजी सुरुभएको छ । 

यो विमानस्थलको समस्या पहिल्याउन र अन्तर्राष्ट्रिय उडानका सम्भावना खोज्न सङ्घीय संसद्को सार्वजनिक लेखा समितिको छानबिन उपसमिति पोखरा आइपुगेको छ । डेढ वर्षअघि उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अझै नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुन सकेको छैन । 

विमानस्थलबाट अहिलेसम्म पाँच चार्टड मात्र भएका छन् । सांसद राजेन्द्र लिङ्देन नेतृत्वमा उपसमितिले सार्वजनिक लेखा समितिमा परेको उजुरीको आधारमा अध्ययन गर्न १३ असारमा उपसमिति बनेको थियो । 

उपसमितिले विमानस्थल र नागरिक उड्डयन प्राधिकरणका कर्मचारीसँग छलफलसँगै विमानस्थलको स्थलगत अध्ययन गरेको छ । सोमबार टोलीले सरोकारवालासँग छलफल गरेको छ । उपसमिति संयोजक लिङदेन स्थलगत अध्ययन, विज्ञहरूसँग छलफल र सरोकारवालासँगको अन्तरक्रियापछि प्रतिवेदन तयार गरिने बताउनुभयो । 

“हामी मुख्यतया यो विमानस्थल निर्माणमा अनियमितता भए–नभएको हेर्दछौँ” उहाँले भन्नुभयो, “अनियमितता भएको रहेछ भने गर्नेलाई कारबाहीको सिफारिस गर्छौँ भने विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनका उपायबारे सुझाव दिन्छौँ ।” उपसमितिले विमानस्थलका लागि काटिएको रिठेपानी डाँडासमेत अवलोकन गरेको छ । 

उपसमितिले अन्तर्राष्ट्रिय उडान हुन नसक्नुका कारण र प्राविधिक त्रुटि भए अध्ययन गरी सार्वजनिक लेखा समितिलाई सुझाव दिनेछ । संसदीय उपसमितिमा लिङ्देनसहित सांसदहरू गोकुलप्रसाद बास्कोटा, प्रेमबहादुर आले, जनार्दन शर्मा, देवप्रसाद तिमिल्सिना, अर्जुननरसिंह केसी, दीपक गिरी, रुक्मिणी राना बराइली, तारा लामा तामाङ, रामकृष्ण यादव र अमनलाल मोदी हुनुहुन्छ ।

सन् २०२३ को नयाँ वर्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्नुभएको थियो । सोमबार भएको छलफलमा सरोकारवालाले सम्झौताभन्दा विमानस्थलको रनवेको उचाइ कम भएको, भूराजनीतिक कारणले उडान हुन नसकेको, स्थानीयका समस्या सुल्झाउन ध्यान नदिइएकोजस्ता गुनासो गरेका थिए । 

२२ अर्ब ६१ करोड रुपियाँमा चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडले यो विमानस्थल निर्माण गरेको हो । मुआब्जासहितका काममा नेपाल सरकारले यहाँ चार अर्बभन्दा बढी छुट्टै खर्च गरिसकेको छ । चार हजार छसय रोपनी जग्गा अधिग्रहण र करिब सातसय रोपनी सार्वजनिक जग्गामा यो विमानस्थल बनेको छ । 

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरा विमानस्थलका बारेमा बारम्बार गुनासो आउने गरेको सुनाउँदै यसको निरूपण हुनुपर्नेमा जोड दिनुभयो । 

पोखरा महानगरका प्रमुख धनराज आचार्यले यो विमानस्थल पोखरेलीको आधा शताब्दीको सपना भएको जनाउँदै यहाँका समस्या सुल्झाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “यो पोखरेलीको ५० वर्षदेखिको सपना हो । केही प्रश्न उठेका छन्, समस्या देखिएका छन्, सुल्झाउनुपर्छ ।” 

विमानस्थल रहेको पोखरा –१४ का वडाध्यक्ष बोधबहादुर कार्कीले दशौँ अर्बको परियोजना सञ्चालन भए पनि स्थानीयका सरोकार सम्बोधन नभएको गुनासो गर्नुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले निर्माण अवधिसम्म नागरिक उड्डयन प्राधिकरणले सञ्चालनको योजना नबनाउनु र इन्धन डिपोसमेत नबन्दा यो उपेक्षामा परेको प्रस्ट हुने औँल्याउनुभयो । 

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले छानबिन जारी हुँदाहुँदै पनि नियमित अन्तर्राष्ट्रिय उडान थाल्न आग्रह गर्नुभयो । “विदेशी विमान कम्पनी आउँदै गर्लान्, अहिले राष्ट्रिय ध्वजावाहकबाटै अन्तर्राष्ट्रिय उडान थालौँ” उहाँले भन्नुभयो,  “पर्यटन राजधानी घोषणा भएको पोखराको समृद्धि पर्यटनको विकासबिना सम्भव छैन ।”