• २० असोज २०८१, आइतबार

कञ्चनपुरमा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो

blog

फाइल तस्बिर ।

अविनाश चौधरी

धनगढी, असार २४ गते । कञ्चनपुरमा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीका अनुसार बाढीमा डुबेर तीन महिला, एक पुरुष, एक बालक गरी पाँच जनाको मृत्यु भएको हो । 

आज बिहान पुनर्वास नगरपालिका–५ का तीन किशोरीको डुबेर ज्यान गएको छ । मृत्यु हुनेमा ग गाउँकी १५ वर्षीया लक्ष्मी बोगटी, १५ वर्षीया सृजना बोगटी र १६ वर्षीया आरती बोगटी हुनुहुन्छ । तीनै जनाको शव फेला परिसकेको जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार एक टोलबाट अर्को टोलमा जाने क्रममा बाढीले बगाउँदा उहाँहरू डुबेर बेपत्ता भएका थिए । उहाँहरूसँगै रहेकी १२ वर्षीया अञ्जली बोगटी भने बाँच्न सफल हुनुभएको छ ।

यसैगरी, कृष्णपुर नगरपालिका–१ पहरियाका सात महिने बालक सोनु धानुकको बिहानै डुबेर ज्यान गएको थियो । घरमा पानी पसेको बेला खाटबाट खसेका बालकको डुबेर ज्यान गएको जोशीले बताउनुभयो । यस्तै, बेलडाँडी गाउँपालिका–३ का २३ वर्षीय डम्मर चौधरीको चौधर नदीमा डुबेर ज्यान गएको छ । आइतबार साँझ चौधर नदीमा माछा मार्न गएको बेला चौधरी नदीमा डुबेर बेपत्ता हुनुभएको थियो । 

कैलालीको कैलारी गाउँपालिका–९ गदरियाका १८ वर्षीय अजय राना भुर्रा नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता हुनुभएको छ । इलाका प्रहरी कार्यालय हसुलियाबाट खटेको प्रहरी टोलीले बेपत्ता रानाको खोजी गरिरहेको छ ।