• २० असोज २०८१, आइतबार

नारायणगढ-बुटवल सडक मर्मत गरिँदै

blog

नारायणगढ-बुटवल सडक । फाइल तस्बिर ।

मीना कंडेल

कावासोती, असार २४ गते । स्तरोन्नति र निर्माणका लागि भत्काइएका राजमार्ग मर्मत गरिने भएको छ । सडकमा भएका खाल्डाखुल्डी पुर्ने, वर्षातले बाटो चिप्लो भएको ठाउँमा गिटीराख्ने, पहिरो हटाउने लगायतको काम एक सातामा सम्पन्न गर्ने गरी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले प्रतिबद्धता जनाएको छ । 

सोमबार नवलपुरका स्थानीय तहका प्रमुख, जिल्ला प्रशासन, जिल्ला प्रहरी, जिल्ला समन्वय समितिका पदाधिकारी, नारायणगढ बुटवल सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख र चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनका व्यवस्थापक र पत्रकारको सामूहिक छलफलमा सडकमा भएका खाल्डाखुल्डी पुर्ने, वर्षातले बाटो चिप्लो भएको ठाउँमा गिटी राख्ने सहमति भएको हो ।

वर्षा सुरु भएसँगै चोरमारा–अरुणखोला–दुम्किबास, थुम्सी जङ्गल क्षेत्रमा रातोमाटो भएको स्थानमा सडक चिप्लो हुँदा यातायात अवरुद्ध हुने गरेको छ । तत्काल सहज रूपमा सडक सञ्चालन गर्न के कति सामग्री चाहिन्छ त्यसको व्यवस्था स्थानीय निकायले गरिदिने मध्यविन्दु नगरपालिकाका नगरप्रमुख भीमलाल अधिकारीले बताउनुभयो ।

नारायणगढ बुटवल सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष् थापा मगरले वर्षातको समय सुरु भएसँगै विस्तारको काम ठप्प भएको बताउनुभयो । अहिले सडक विस्तारको कामभन्दा पनि यातायात सहज रूपमा सञ्चालन गराउनका लागि पहल भइरहेको उहाँले बताउनुभयो । वर्षातमा सडक विस्तारको काम गर्न सकिने अवस्था नभएपछि अहिले यातायात सहज बनाउनेतर्फ ध्यान दिन निर्माण व्यवसायीलाई खटाइएको उहाँले बताउनुभयो ।

यता समयमै सडक विस्तारको काम नसकेको निर्माण कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन लिमिटेड पूर्वी खण्ड आयोजना व्यवस्थापक राकेश झाले पैसा अभाव भएको कारण आफूहरूले निर्माण कार्य छिटो सम्पन्न गर्न नसकेको बताउनुभयो । काम सुरु गर्ने बेलामा फैलिएको कोभिडको महामारी, ढिला गरी दिइएको रुख काट्ने स्वीकृति, बिजुलीको पोल सार्न भएको ढिलाइसहित पुरानै कारण देखाएर निर्माण कम्पनीले अझ डेढ वर्ष म्याद थपका लागि निवेदन दिएको जनाइएको छ ।

पूर्व पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक विस्तार योजनाको दोस्रो पटक थपिएको म्याद आउँदो साउन ८ गते सकिँदै छ । हालसम्म नवलपरासी पूर्वी खण्डमा ५२ प्रतिशत काम सम्पन्न भएको छ । नारायणगढ–बुटवलको ११४ किलोमिटर खण्ड तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण सम्झौता भएर निर्माण सुरु भएको थियो । नारायणगढ बुटवल खण्डको ११३ किलोमिटर सडक अन्तरगत पूर्वी खण्डमा ६५ किलोमिटर मध्य बजार क्षेत्रमा सर्भिस लेन सहित ६, दाउन्ने खण्डमा तीन र अन्य क्षेत्रमा ४ लेनको सडक निर्माण गर्ने गरी काम अघि बढिरहेको छ । 

योजनाका सूचना अधिकारी एवम् इन्जिनियर शिव खनालले चार लेनमा विस्तार गर्ने सडक दुईतर्फी गरेर एकसय ३० किलोमिटर कालोपत्रे गर्नुपर्नेमा हाल दुईतर्फी गरेर ४४ किलोमिटर सडक कालोपत्रे गर्ने काम सकिएको बताउनुभयो । यस खण्डमा पर्ने ठुला १२ वटा पुल मध्य तीन वटा बाहेकमा स्लाब राख्ने सम्मको काम भएको छ । साना २२ वटा पुल निर्माण गर्नुपर्नेमा सबैको काम सम्पन्न भएको बताउनुभयो ।