• २० असोज २०८१, आइतबार

अवरुद्ध बेनी-दरबाङ सडक खुल्यो

blog

फाइल तस्बिर

गलेश्वर (म्याग्दी), असार २४ गते । पहिराेका कारण अवरुद्ध बनेको म्याग्दीको बेनी-दरबाङ सडक तीन दिनपछि सञ्चालनमा आएको छ । बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा पर्ने फापरखेतमा गत शुक्रबार पहिरो जाँदा सडक अवरुद्ध बनेको थियो ।

पहिरोले सडक बगाएपछि २४ किलोमिटर दूरीमा पर्ने जिल्लाको पश्चिमी भेग धवलागिरी, मालिका र मङ्गला गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने उक्त खण्डमा आवतजावत पूर्ण रुपमा बन्द भएको थियो । बाङ्गेभिर, घुमाउने भिर र तोराखेतमा गएको पहिरोले सडक अवरुद्ध भएको थियो । पहिरो गएको ठाउँमा ग्यावीयन पर्खाल र नयाँ ट्र्याक खनेर सडक मर्मत गरेपछि आजदेखि नियमित सञ्चालनमा आएको प्रहरीले जनाएको छ । 

सडक अवरुद्ध हुँदा आवतजावत, निर्माण र खाद्यान्न सामग्री ढुवानीका साथै बिरामीलाई अस्पताल पुर्याउन समस्या भएको थियो । यसैबिच बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा रहेको फापरखेत खण्डमा पर्ने बेनी-दरबाङ सडकको वैकल्पिक मार्ग खोजिनुपर्ने म्याग्दीका प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले जोड दिनुभयो । 

भौतिक पूर्वाधार मन्त्रालयसहित सरोकार भएकासँग पहिरोको समस्यालाई दीर्घकालीन समाधान गर्न छलफल भइरहेको उहाँले बताउनुभयो । फापरखेतको पहिरो समाधानका लागि वैकल्पिक मार्गको व्यवस्था गरिनुपर्ने सांसद गर्बुजाले बताउनुभयो । सडकदेखि करिब दुई सय मिटरमाथि र एक सय ५० मिटर फराकिलो क्षेत्रमा पहिरो फैलिएको छ । 

“यहाँ १८ वर्षअघि सडक खोल्नुपूर्व पहिरोको जोखिम थियो । पहिरो रोकथामका लागि दीर्घकालीन योजना नहुँदा यस खण्डमा वर्षायाममा सिधा यातायात सेवा प्रभावित हुने गरेको छ । पश्चिम म्याग्दीमा रहेका मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाका स्थानीय सदरमुकाम बेनीसम्म पुग्न वर्षामा जोखिमपूर्ण यात्रा गरिरहेका छन्”, सांसद गर्बुजाले भन्नुभयो । रासस