• २० असोज २०८१, आइतबार

कोहलपुरका तीन हजार घर डुबानको उच्च जोखिममा

blog

बाढी र डुबानबारे छलफल गर्न बसेको कोहलपुर विपद् व्यवस्थापन समिति बैठक । तस्बिर : सिराज खान

सिराज खान
नेपालगन्ज, असार २४ गते । 
बाँकेको कोहलपुर नगरपालिका पनि यस वर्ष बाढी र डुबानको अत्यधिक जोखिममा रहेको प्रक्षेपण कोहलपुर नगरपालिकाले गरेको छ ।

कोहलपुर नगरपालिकाको नगर विपद् व्यवस्थापन समितिले तयार पारेको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८१’ मा सो कुरा उल्लेख गर्नुहुँदै यस वर्ष वर्षा बढी भएकाले बाढी र डुबानबाट नगरपालिकाका १५ वडाका तीन हजार घरधुरीका १३ हजार ६३० परिवार उच्च जोखिममा रहेको प्रक्षेपण गरिएको छ ।

कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले सो कुराको जानकारी गराउनुहुँदै आइतबार बसेको नगर विपद् व्यवस्थापन समितिको बैठकले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८१’ लाई पारित गरेको बताउनुभयो ।

उहाँले अब सोही योजना अनुसार क्षतिलाई न्यूनीकरण गर्दै जाने गरी तीव्र गतिमा काम गर्न विपद् व्यवस्थापन समितिलाई निर्देशन दिएको बताउनुभयो ।

एक पटकको ठुलो वर्षा भई सकेर नगरपालिकाका विभिन्न ठाउँ डुबानमा परिसकिएपछि मात्रै ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८१’ लाई पारित गरिएकोमा त्यसको सर्वसाधारणले आलोचना समेत गरेका छन् ।

कोहलपुर ८ का स्थानीय स्थानीय दिनेश थापाले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८१’ कार्यान्वयन गरेर जाने बेलामा पारित गरिएकोले अब हुने सबै काममा ढिलाइ हुने गुनासो गर्नुभयो ।

उता, कोहलपुरका विपद् व्यवस्थापन शाखा प्रमुख वीरबहादुर थापाले मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना पारित भएसँगै त्यसको कार्यान्वयन पनि सुरु भएको जनाउनुभयो ।

उहाँका अनुसार समितिले यो बर्खायाममा बाढी र डुबानबाट नगरका १५ वडाका तीन हजार एक घरधुरीका १३ हजार ६३० परिवार प्रभावित हुने प्रक्षेपण गरेको छ जनाउँदै सबैभन्दा धेरै वडा नम्बर १, ८, ९, १२, १३ र १४ मा बाढी र डुबानको जोखिम देखिएको छ ।

प्रतिकार्य योजनामा वडा नम्बर १२ मा एक हजार घरधुरीका चार हजार दुई जना प्रभावित हुने प्रक्षेपण गरिएको छ । थारुगाउँ, दीपज्योति टोल, शान्ति टोल, निबुवा, जानकी टोल, सुन्दरबस्ती, मसुरीखेत, रामजानकी टोल, रोहिणी, प्रगति टोल र स्कुल टोल जोखिममा रहेको पहिचान भएको प्रतिकार्य योजनामा उल्लेख छ ।

यसैगरी, वडा नम्बर १३ का सिमरी, झोलुङ्गे पुलको दायाँबायाँ, भरैया, थारुगाउँ, खड्कवार, नेरामाविको उत्तरवस्ती गरी १७५ घरधरीका ७४० परिवार प्रभावित हुने अनुमान गरिएको छ । वडा नम्बर १४ मा हवलदारपुर, गीतापुर, उढरापुर र रिहार गरी १६० घरधुरीका आठ सय परिवार जोखिममा छन् ।

वडा नम्बर ८ का आठ सय घरधुरीका तीन हजार दुई सय परिवार जोखिममा रहेका छन् । सो वडाका मुन्नापुर, झर्कट्टी, पिपरीचोक टोल जोखिममा परेका छन् । वडा नम्बर ९ का गणेश टोल, भेरी ग्याँसको पूर्व तथा उत्तरका ३७५ घरधुरीका एक हजार १९५ परिवार प्रभावित हुने आङ्कलन गरिएको छ ।

वडा नम्बर एकका सबै टोल जोखिममा रहेका छन् । सो वडाका १५० घरधुरीका ७५० परिवार प्रभावित हुने आङ्कलन गरिएको छ ।

यसैगरी, वडा नम्बर १० मा एकतानगर, चटार गाउँ, रामनगर, जीवनज्योति स्कुल आसपास, डुडुवाखोला आसपासका १२० घरधुरीका छ सय परिवार प्रभावित हुने प्रक्षेपण गरिएको छ ।

नगरपालिका क्षेत्रको करिब ६० किलोमिटर क्षेत्रमा डुडुवाखोला, किरणनाला, सानो डुडुवानाला, इटानाला, रोहिणी खोला बग्ने गर्छन् । खासगरी डुडुवा खोला, डुडुवा नाला र किरणनालाले यसक्षेत्रका सर्वसाधारणलाई बाढी र डुबानको जोखिममा पार्ने गरेका छन् ।