• २० असोज २०८१, आइतबार

बागमतीका पाँच मन्त्रीले राजीनामा दिँदै

blog

राममणि दाहाल

हेटौँडा, असार २४ गते । बागमती प्रदेश सरकारबाट नेकपा एमालेका तर्फबाट मन्त्री भएकाहरूले आज सोमबार राजीनामा दिने भएका छन् । सङ्घमा भएको सत्ता समीकरण परिवर्तन भएर नेपाली काँग्रेस र एमालेको नयाँ गठबन्धन बनेसँगै यस प्रदेशमा एमालेका मन्त्रीहरूले राजीनामा दिने भएका हुन् । 

नेकपा माओवादी केन्द्रका शालिकराम जम्कट्टेल नेतृत्वको १३ सदस्यीय मन्त्रीमण्डलमा एमालेका तर्फबाट पाँच जना मन्त्री सहभागी छन् ।प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री समेत रहनुभएका एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले आज सोमबार मुख्यमन्त्रीलाई पाँचै जना मन्त्रीको मुख्यमन्त्री समक्ष सामूहिक राजीनामा बुझाउने जानकारी दिनुभयो । 

उहाँले बिहान १० बजेको समयमा राजीनामा दिने र सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिने बताउनुभयो । सङ्घका एमाले मन्त्रीहरूले सरकारबाट राजीनामासँगै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि यस प्रदेशमा पनि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने तयारी गरे पनि मुख्यमन्त्री जम्कट्टेल काठमाडौँमा रहनुभएकोले रोकिएका थिए । आइतबार राजीनामा दिने भनिए पनि मुख्यमन्त्रीले मन्त्रीपरिषद् बैठकपछि मात्र राजीनामा दिन भनेपछि सहमतिमा आज राजीनामा दिन लागिएको हो । 

प्रदेश सरकारमा एमालेबाट आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया, वन तथा वातावरण मन्त्री केशवप्रसाद पोखरेल, स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ, खानेपानी, जलस्रोत तथा सिँचाइमन्त्री एकालाल श्रेष्ठ र उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठ रहनुभएको छ ।

गत फागुनमा नेपाली काँग्रेस सरकारबाट बाहिरिएसँगै एमालेलगायतका दलहरूको समर्थनपछि चैत १७ गते एमालेका थपलिया मन्त्रीमा नियुक्ति हुनुभएको थियो । एमाले मन्त्रीहरूले राजीनामा र सरकारलाई दिएको समर्थन फिर्तासँगै मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको सरकार अल्पमतमा पर्ने छ ।