• २० असोज २०८१, आइतबार

विपत् प्रभावित सर्वसाधारणको उद्धार जारी

blog

लुम्बिनी प्रदेश ब्युरो

लुम्बिनी, असार २४ गते । अविरल वर्षाका कारण प्रदेशका विभिन्न स्थानमा जनधनको क्षति भएको छ । बाढीपहिरोका कारण पहाडी जिल्ला बढी प्रभावित भएका छन् । 

तराईका जिल्लामा डुबानको समस्या देखिएको छ । पहिरोमा परी ज्यान गुमाउनेको खोजतलास र पीडितको उद्धार भइरहेको प्रदेश सरकारले जनाएको छ । राहत तथा पुनस्र्थापना कार्यमा जोड दिइएको छ । 

नदी तथा खोला तटीय क्षेत्रमा रहेका जोखिम बस्तीबाट सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको जनाइएको छ । बाढीपहिरोले विभिन्न सडक अवरुद्ध छन् ।

नेपालगन्ज समाचारदाताका अनुसार राप्ती नदीमा आएको बाढीमा फसेका चार जना डुङ्गाचालकको सशस्त्र प्रहरी बलले उद्धार गरेको छ । राप्तीसोनारी गाउँपालिका–६, पिप्रहवाघाटस्थित राप्ती नदीपारिको किनारमा डुङ्गासहित फसेकालाई उद्धार गरिएको सशस्त्र प्रहरी उपरीक्षक विमल डाँगीले बताउनुभयो । उहाँले भन्नुभयो, “डुङ्गासहित राप्ती नदीको बाढीका कारण वारि आउन नसकी पारि किनारमा रातभर फसेका रहेछन् । सबैको बिहान उद्धार गरिएको छ ।” राप्तीसोनारी–६ का दिनेश मल्लाह, राजु मल्लाह, ओमप्रकाश गोडिया र रामसिंह मल्लाहको उद्धार भएको हो ।  

नदीमा फसेकाको उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेड क्वाटरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक विमल डाँगी र सशस्त्र प्रहरी बल नेपाल नम्बर ४२ रिजर्भ गण हेड क्वाटरबाट सशस्त्र प्रहरी नायब उपरीक्षक देवबहादुर बोहोराको टोली परिचालन गरिएको थियो । 

शनिबार साँझ ढुङ्गामा मानिस छोड्न नदीपारि जाँदै गर्दा नदीमा भीषण बाढी आएपछि वारि आउन नसकी रातभरि नदी किनारमा डुङ्गामै बसेर रात बिताएको दिनेश मल्लाहले बताउनुभयो ।

एक सय घरपरिवार सारियो 

त्यस्तै बाढी तथा डुबानबाट जोगाउन बाँके डुुडुवा–१ का एक सय घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ । राप्ती नदीमा आएको बाढी बाँकेका गाउँबस्तीमा पस्न थालेपछि जोखिम क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा सार्न थालिएको हो । 

राप्ती नदीको पानीले खतराको विन्दु पार गरेपछि डुबानमा पर्ने निश्चित भएका स्थानीयलाई सारिएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । 

डुडुवा–१, कृषि चौफेरी, बार्डर चौफेरी र पाँझा गाउँ डुबानको जोखिममा रहेको कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रूपन ज्ञवालीले बताउनुभयो । उहाँले तीन गाउँका स्थानीयलाई अग्लो स्थानमा निर्माण गरिएका आश्रयस्थलमा सारिएको बताउनुभयो । 

बाढी प्रभावित कृषि चौफेरीका स्थानीय राम यादवले राप्तीको बाढी गाउँमा आउन थालेपछि सर्वसाधारण सुरक्षित स्थानतर्फ लागेको बताउनुभयो । गाउँका सबै स्थानीयलाई नजिकैको आश्रयस्थलमा पु¥याउने काम भइरहेको छ ।

बाढीले कुसुम क्षेत्रमा रहेका गाउँहरू डुबानमा परेका छन् । कुसुमस्थित बाघखोर गाउँमा बाढी पसेपछि घर डुबानमा परेको स्थानीयले जनाएका छन् । बाढी गाउँमा पस्दा स्थानीय खुमलाल रावत, शालिकराम भण्डारी, राजकुमार रावत, गर्भे विक, रमेश भण्डारी, धर्मबहादुर ओली, चोपा ओली, रोवर ओलीका घर डुबानमा परेको स्थानीयले बताएका हुन् ।  

खोलाले बगाएर महिलाको मृत्यु 

तानसेन समाचारदाताका अनुसार पाल्पामा खोलाले बगाएर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा माथागढी–६, गोठादी माहिलाचौरकी ६८ वर्षीय रिमासरा राना रहेको प्रहरीले जनाएको छ । 

शनिबार गोठादीकै सातपोखरी गएर घर फर्किने क्रममा चिर्तुङ खोलाले बगाएर रानाको मृत्यु भएको प्रहरी कार्यालयका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । चिर्तुङ खोलाले बगाएको थाहा पाएपछि महिलाको खोजी गर्ने क्रममा बगाएको स्थानदेखि पाँच सय मिटर तल खोलाको छेउमा शव भेटिएको छ । 

कालीगण्डकी कोरिडोरमा पहिरो 

तम्घास समाचारदाताका अनुसार शुक्रबारदेखि कालीगण्डकी कोरिडोर पहिरोका कारण अवरुद्ध भएको छ । अविरल वर्षाका कारण हर्मिचौर–पूर्तिघाट सडकखण्डको विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको हो । 

कालीगण्डकी गाउँपालिकाका उपाध्यक्ष मञ्जु दर्लामीले यस सडकखण्डको गरगरे, मुल्क, पातीखोला र बरल्वामा पहिरो खसेको छ । निरन्तर रूपमा पानी परिरहेकाले पहिरो पन्छाउन नसकिएको दर्लामीले बताउनुभयो । पानी परिरहेको समयमा डोजरको प्रयोग गरी पहिरो पन्छाउँदा झन् समस्या आउने उहाँले बताउनुभयो । गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले निरन्तर पानी परिरहेकाले अत्यावश्यक काममा बाहेक यात्रा नगर्न आग्रह गर्नुभएको छ । कोरिडोरमा ढुङ्गासहित पहिरो खस्ने जोखिम बढेकाले यात्रा नगर्न सामाजिक सञ्जालमार्फत आग्रह गर्नुभएको हो ।

जोखिम मोलेर दाउरा सङ्कलन 

खजुरा समाचारदाताका अनुसार बाँकेको डुडुवा गाउँपालिका–४, सिधनवाघाटस्थित राप्ती नदी किनारामा नदीले बगाएर ल्याएका दाउरा जम्मा गर्न स्थानीयको भिड लागेको छ । नदीले बगाएर ल्याएका दाउरा जम्मा गर्न सयौँ स्थानीय सिधनवाघाटमा व्यस्त छन् । नदीले माथिबाट बगाएर ल्याएका दाउरा स्थानीयले नदीको किनाराबाट लामो कैँची लौरो बनाएर त्यसैको माध्यमबाट तानेर बाहिर निकाल्ने गरेका छन् । हरेका बर्सातको समयमा राप्ती नदीले बगाएर ल्याएका दाउरा स्थानीयले यसै गरी जम्मा गर्ने र बिक्री गर्ने गर्छन् ।

डुडुवा–४ का स्थानीय रमेश यादवले बिहान ११ बजेदेखि दाउरा जम्मा गर्न नदी किनारामा आएको बताउनुभयो । उहाँले करिब चार÷पाँच क्विन्टल दाउरा जम्मा गरेको जानकारी दिनुभयो । यादवका अनुसार जम्मा गरेका दाउरामध्ये ठूला दाउरा नेपालगन्जसम्म लगेर बिक्री गर्ने र साना दाउरा घरमै प्रयोग गर्ने गरेको बताउनुभयो ।

सम्भावित दुर्घटनाबाट नागरिकलाई बचाउनका लागि उक्त स्थानमा सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा २५ जनाको तालिमप्राप्त उद्धार टोली तैनाथ छ । स्थानीयलाई नदीमै पसेर दाउरा सङ्कलनमा प्रहरीले रोक लगाएको छ ।