• २० असोज २०८१, आइतबार

पोखरा विश्वविद्यालयमा तालाबन्दी

blog

विश्वविद्यालयमा गरिएको तालाबन्दी ।

फडिन्द्र अधिकारी

लेखनाथ, असार २३ गते । पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालय र परीक्षा नियन्त्रण कार्यालयमा आइतबार तालाबन्दी गरिएको छ । 

शुक्रबारदेखि आन्दोलनमा उत्रेका पूर्णकालीन करार प्राध्यापक आइतबारदेखि अध्यापन छाडेर केन्द्रीय कार्यालयको ढोकामा धर्नामा बसेका छन् । यता, नेपाल विद्यार्थी सङ्घ र अनेरास्ववियुका पदाधिकारीले आफ्ना विभिन्न माग पूरा नभएको भन्दै विश्वविद्यालयको केन्द्रीय कार्यालय र परीक्षा नियन्त्रण कार्यालयमा तालाबन्दी गरेका छन् । 

विश्वविद्यालयको २४ औँ सभाले करार प्राध्यापकको सेवा अवधि नथपी नयाँ विज्ञापनमा जाने निर्णय गरेको थियो । विश्वविद्यालयले लामो समयसम्म सेवा आयोगको विज्ञापन नखोलेको बताइएको छ । 

धर्नामा सहभागी करार प्राध्यापक प्रकाश थापाले करारको स्थानमा करारमै राख्ने विज्ञापनको औचित्य नहुने दाबी गर्नुभयो । “करारको ठाउँमा अर्को करार सेवाको विज्ञापन किन चाहियो ?” उहाँले प्रश्न गर्नुभयो । 

हाल विश्वविद्यालयमा पूर्णकालीन करार प्राध्यापक तथा प्राविधिक गरी ७१ जना सेवारत छन् । स्थायी सेवामा रहेका प्राध्यापकहरू पदाधिकारी बन्नका लागि तथा पिएचडी अध्ययन गर्नका लागि बिदामा बसेपछि विश्वविद्यालयमा करार र स्थायी प्राध्यापकको सङ्ख्या करिब बराबरी छ । 

शुक्रबार करार प्राध्यापकहरूले उपकुलपति कार्यालय, रजिस्ट्रार कार्यालय, डिन कार्यालय, परीक्षा नियन्त्रकको कार्यकक्ष, सबै स्कुल निर्देशकका कार्यालय, शिक्षण अस्पताल निर्देशक कार्यालय तथा स्कुल प्रशासन कार्यालयमा तालाबन्दी गरेका थिए ।

करार प्राध्यापकको पेनडाउनका कारण स्कुल अफ इन्जिनियरिङको आन्तरिक परीक्षासमेत स्थगित भएको छ । आन्तरिक परीक्षामा करार प्राध्यापकले प्रश्नपत्र बनाउन तथा निरीक्षकका रूपमा काम इन्कार गरेपछि परीक्षा सञ्चालन गर्न नसकिएको आन्तरिक परीक्षा संयोजक अनिलमणि भण्डारीले जानकारी दिनुभयो ।