• २० असोज २०८१, आइतबार

पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएपछि काउरेवासी शोकमा

blog

शुक्लागण्डकी-७ काउरेमा गएको पहिरो। तस्बिर: अमरराजा नहर्की

अमरराज नहर्की

तनहुँ, असार २३ गते। तनहुँको  शुक्लागण्डकी-७ काउरेमा पहिरोले घर पुरिएर तीन जनाको मृत्यु भएपछि पुरै गाउँ शोकमा डुबेको छ। 

स्थानीय ४० वर्षीय हिरा नेपालीको घर पहिरोले पुरिँदा उहाँसँगै छिमेकी ३७ वर्षीया अनिशा बास्तोला र ६५ वर्षीय श्याम अधिकारीको मृत्यु भएपछि गाउँ शोकमा डुबेको हो। 

उक्त पहिरोमा परेर चार जना घाइते भएका छन्। घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ। अविरल वर्षापछि पहिरो खस्ने खतरा बढेपछि हिरा नेपालीको घरको सामान सार्न गएका छिमेकी बास्तोला र अधिकारी समेत पहिरोमा परेर  बेपत्ता हुनुभएको थियो।

सुरक्षाकर्मी र स्थानीयको सहयोगमा खोजतलासी गरी भग्नावशेष शव फेला पारिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो।

विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा घटनाको खबर आएपछि मृतकका आफन्तजनमा रुवाबासी चलेको थियो। अहिले गाउँ नै  शोकमा डुबेका छन्। अहिले मृतकका परिवारलाई सान्त्वना दिने स्थानीयको घुइँचो लागेको छ । यस घटनाले सिङ्गो नगरपालिका शोकमा डुबेको शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले बताउनुभयो। 

नगरपालिकाको तर्फबाट घाइते सबैको उपचार तथा  किरिया खर्च दिइने पण्डितले बताउनुभयो। घर बनाउनुपर्ने आफन्त तथा स्थानीयको भनाइ रहेकाले त्यसका लागि पनि कार्यपालिकामा छलफल चलाइने पण्डितले जानकारी दिनुभयो।

तनहुँमा शनिबार पहिरोमा परी चार जनाको मृत्यु भएको थियो।  ऋषिङ गाउँपालिका- झापुटारमा तनहुँ जलविद्युत आयोजनामा काम गर्ने ५० वर्षीय स्थानीय कृष्ण पुलामी मगरको पहिरो आउँदा ढुङ्गाले लागेर मृत्यु भएको थियो। लमजुङको सुन्दरबजार नगरपालिका-२ का ५१ वर्षीय सोमलाल श्रेष्ठ घाइते हुनुभएको छ। 

जिल्ला प्रशासन कार्यालयले भारी वर्षा भइरहेकाले नदी तटीय र पहिरो जोखिम क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले वर्षाले हुनसक्ने क्षति न्यूनीकरणका लागि सबैलाई आग्रह गर्नुभएको छ।