• १९ असोज २०८१, शनिबार

चार वटा गाईको जीवितै उद्धार

blog

मकवानपुर गढी गाउँपालिका २ छाप कीर्तिडाँडास्थित बेबी एग्रिकच्चरको गाई फार्ममा गाईको उद्धार गरिँदै । तस्बिर: गोरखापत्र

राममणि दाहाल

हेटौँडा, असार २३ गते । मकवानपुरमा वर्षाका कारण गाई फार्मको गोठ भास्सिएर पुरिएका चार वटा गाईलाई जीवितै उद्धार गरिएको छ । मकवानपुर गढी गाउँपालिका २ छाप कीर्तिडाँडास्थित बेबी एग्रिकच्चरको गाई फार्मको गोठ शनिवार बिहान अविरल वर्षासँगै ७ः३० बजेको समयमा भास्सिएपछि फार्ममा रहेका चार वटा गाई पुरिएका थिए । 

मकवानपुर गढी गाउँपालिका २ का वडाध्यक्ष बखानसिं पाख्रिनले गोठको छानालगायतले पुरिएको अवस्थामा स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा लामो प्रयासपछि गाईलाई जीवितै उद्धार गरिएको जानकारी दिनुभयो । सन्तकुमार घलानसहित दुई जनाले सञ्चालन गर्दै आउनुभएको फार्मको नयाँ संरचना भएकोले भास्सिएको हुनसक्ने वडाध्यक्ष पाख्रिनले बताउनुभयो । 

फार्ममा गाई हेरालुको काम गर्दै आउनुभएका तेजबहादुर माेक्तानको चार दिनकी सुत्केरी श्रीमती भने भास्सिएको गोठबाट भागेर ज्यान जोगाउन सफल हुनुभएको छ ।

वडाध्यक्ष पाख्रिनले गोठ एक्कासि भास्सिन थालेपछि बच्चासहित हाम फालेर ज्यान जोगाउन सफल भएको र सामान्य दक्खल पुगेको भन्दै गाई फार्मको नयाँ संरचना भएकोले भास्सिएको हुनसक्ने बताउनुभयो । 

तेजबहादुर बिहान दूध बिक्री गर्न गएको समयमा गोठ भास्सिएको थियो । यसैबिच अविरल वर्षाको कारण हेटौँडा उपमहानगरपालिका ५ को विभिन्न स्थान शनिवार डुबानमा परेको छ ।

मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीको नेतृत्वमा प्रभावित क्षेत्रमा उद्धार कार्य गरिएको थियो । वर्षाको कारण करिब २५ वटा घर डुबानमा परेको र मानवीय क्षति नभएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताउनुभयो ।