• १९ असोज २०८१, शनिबार

अविरल वर्षाले धेरै ठाउँमा क्षति, सडक अवरुद्ध

blog

लुम्बिनी प्रदेश ब्युरो

घोराही, असार २३ गते  ।  अविरल वर्षाका कारण लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा मानवीय तथा भौतिक क्षति भएको छ । सडकहरू अवरुद्ध भएका छन् । वर्षाका कारण कैयौँ बस्ती जोखिममा परेका छन् । घोराही समाचारदाताका अनुसार दाङका विभिन्न ठाउँ जलमग्न हुनुका साथै सडक अवरुद्ध भएका छन् । लगातारको बर्सातका कारण दाङ तथा देउखुरी उपत्यकामा धेरै घर डुबानमा परेका छन् । 

घोराही उपमहानगरपालिका–१७, गैरागाउँ वडा नं. १८ को बालुवाटार, राप्ती गाउँपालिका–५, लट्ठहवा, पहरूवा र कालापानी र लमही नगरपालिका–७, हस्नापुरलगायतका स्थानमा एक दर्जनभन्दा बढी घरमा पानी पसेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभयो । प्रहरी उपरीक्षक केसीका अनुसार सिसहनियामा रहेको इलाका प्रहरी कार्यालय पनि डुबानमा परेको छ । कतिपय ठाउँमा धान खेत कटान गरेको छ । 

एक जनाको मृत्यु, अर्का बेपत्ता

यसै गरी लगातरको वर्षाका कारण शनिबार खोलाले बगाउँदा देउखुरीमा एक जनाको मृत्यु भएको छ । गढवा गाउँपालिका–५, गङ्गदी खोलामा रा १ त २१६६ नम्बरको ट्याक्टरलाई खोलाले बगाउँदा ५५ वर्षीय छेदीराम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक केसीले जानकारी दिनुभयो । उहाँका अनुसार सोही ठाउँ निवासी ट्याक्टरचालक महेश यादव र स्थानीय राजकुमार चौधरीको सकुशल उद्धार गरिएको छ । प्रहरीका अनुसार राप्ती नदीले बगाउँदा एक जना बेपत्ता हुनुभएको छ । शनिबार बिहान दुध बिव्रmीका लागि लमही आउनुभएका राजपुर गाउँपालिका–२ निवासी १८ वर्षीय राजकुमार यादव घर फर्किने क्रममा राप्ती नदीले बगाएर बेपत्ता हुनुभएको थियो भने तीन जना नदीको बिचमा फसेका थिए । तीन जनामध्ये राजकुमारलाई नदीले बगाए पनि अन्य दुई जनालाई सकुशल उद्धार गरियो । 

जिल्लाभरका सडक अवरुद्ध

तानसेन समाचारदाताका अनुसार पहिरो खस्दा शनिबार बिहानैदेखि बेलुकीसम्म पनि जिल्लाका राजमार्ग तथा सहायक मार्गमा सवारीसाधन सञ्चालन हुन सकेनन् । सिद्धार्थ राजमार्गको कालीमाटी, बर्तुङ, राम्दी सितापहाड क्षेत्रमा पहिरो खसेको छ । दिनभर पानी परे पनि पहिरो हटाउने प्रसास सफल हुन सकेन ।  तानसेन तम्घास सडकखण्डको माल्मुल, जोर्ते र अर्गलीमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । यस्तै कालीगण्डकी कोरिडोर अन्तर्गत पिपलडाँडा–रामपुर खण्डको असर्दीनजिकै पहिरो खसेको थियो । 

हार्थोक–बतासे–छहरा सडकखण्डको रिब्दीकोट–४, हटिया, आर्यभाञ्ज्याङ–रामपुर सडकखण्डको रम्भा–५, काउलेपानीनजिकै पहिरो खस्दा सडक शनिबार बिहानैदेखि अवरुद्ध बनेको छ । पाल्पाको रिब्दीकोटमा ना ६१ प ८५८४ र लु २१ प ५६३२ नम्बरको मोटरसाइकल पहिरोले पुरेको छ । यस्तै पाल्पाबाट बुटवलतर्फ कुखुरा लिएर गएको लु १ च ६३२५ र लु ३ च ३१५० नम्बरको बलेरो जिप माथिबाट खसेको पहिरोमा पुरिएको छ । रामपुर–९, मधुकोटका कमलबहादुर साठीघरेको गोठमा पहिरो खस्दा एक भैँसी, तीन बाख्राको मृत्यु भएको छ । यस्तै रम्भा–२, फोक्सिङकोटको वडा कार्यालयमाथिबाट रुख ढल्दा दुई जना घाइते भएका छन् । 

एक दर्जन गाउँ जोखिममा   

नेपालगन्ज समाचारदाताका अनुसार राप्ती नदीमा आएको भेल बाँकेका गाउँ बस्तीमा पसेको छ । सो नदीको बाढीले गर्दा कुसुममा रहेका गाउँ डुब्न थालेका छन् । राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ अन्तर्गत पर्ने कुसुमस्थित बाघखोर गाउँमा बाढी पसेको स्थानीय प्रेम सुनारले बताउनुभयो । बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले राप्ती नदीको सतहले खतराको चिह्न पार गरेपछि उद्धारका लागि सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएका कुरा बताउनुभयो । 

तम्घास समाचारदाताका अनुसार विद्युत्को प्रसारण लाइनका पोल खतरामा रहेका छन् । जिल्लाको गुल्मीदरबार गाउँपालिका–४, बिरबासनजिकै मदन भण्डारी राजमार्गको सडक विस्तारका क्रममा प्रसारण लाइनका पोल जोखिम अवस्थामा रहेकाले विद्युत् अवरुद्ध भएको छ । सडक विस्तारका क्रममा पोलको उचित व्यवस्थापन नगरी विस्तार गरेकाले समस्या आएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रका प्रमुख अर्जुन पोखरेलले जानकारी दिनुभयो । 

अहिले बिरबास सबस्टेसनबाट हुँगा फिडरमा जाने लाइन अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र गुल्मीले जनाएको छ । हावाहुरीसहित अधिक वर्षामा जोखिम बढी हुने भएकाले बिजुलीको लाइन काटिएको कार्यालयले जनाएको छ ।