• १९ असोज २०८१, शनिबार

मुख्यमन्त्रीले विश्वासको मत लिने

blog

राममणि दाहाल

हेटौँडा, असार २३ गते ।  सङ्घमा सत्ता समीकरणमा भएको परिवर्तनको प्रत्यक्ष प्रभाव परेको बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा नदिने हुनुभएको छ ।

सङ्घमा नेकपा एमालेले विश्वासको मत फिर्ता लिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिई विश्वासको मत लिने तयारी गर्दै गर्दा बागमतीमा पनि मुख्यमन्त्री जम्कट्टेलले राजीनामा नदिई विश्वासको मत लिने तयारी गर्नुभएको हो । 

यस प्रदेशमा एमालेसहितका साना दलको समर्थनमा मुख्यमन्त्री बन्नुभएका जम्कट्टेललाई दिएको समर्थन फिर्तासँगै एमालेका मन्त्रीले राजीनामा दिने तयारी गरेका छन् । मुख्यमन्त्री जम्कट्टेल प्रदेश राजधानीमा नहुनुभएकाले सरकारलाई दिएको समर्थन फिर्ता लिन र मन्त्रीबाट राजीनामा दिन रोकिएका एमालेका मन्त्रीले आइतबार मुख्यमन्त्री जम्कट्टेल हेटौँडामा आएसँगै राजीनामा र सरकारलाई दिएको समर्थन फिर्ता लिने भएका छन् ।  एमाले बागमती प्रदेश संसदीय दलका नेता एवं आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आइतबार मुख्यमन्त्री हेटौँडामा आउने र राजीनामा दिने जानकारी दिनुभयो । 

यस्तै नेकपा माओवादी केन्द्रका मुख्य सचेतक रत्नप्रसाद ढकालले मुख्यमन्त्रीले पदबाट राजीनामा नदिएर विश्वासको मत लिनुहुने बताउनुभयो । उहाँले अगाडि भन्नुभयो, “मुख्यमन्त्री जम्कट्टेलले राजीनामा नदिने र विश्वासको मत लिने मोटामोटी सल्लाह भएको छ, पार्टीको संसदीय दलको बैठकले निर्णय गर्दै छ ।”

माओवादी केन्द्रको संसदीय दलको बैठक आइतबार काठमाडौँमा पछिल्लो समसामयिक गतिविधि, मुख्यमन्त्रीको राजीनामा वा विश्वासको मतलगायतका विषयमा छलफल गर्न बस्दै छ । योसँगै माओवादी केन्द्र संसदीय दलका नेता मुख्यमन्त्री जम्कट्टेलले चौथो पटक विश्वासको मत लिनुहुने छ ।