• १९ असोज २०८१, शनिबार

हेटौँडा–काठमाडौँ जोड्ने सडक अवरुद्ध

blog

फाइल तस्विर

अनिल पराजुली

हेटौँडा, असार २२ गते । अविरल वर्षाका कारण पहिरोले हेटौँडा–काठमाडौँ जोड्ने सडक अवरुद्ध भएको छ । शनिवार बिहानैदेखि परेको पानीका कारण हेटौँडाबाट काठमाडौँ जोड्ने छोटो दूरीका तीनवटा सडकमार्ग अवरुद्ध भएको हो । 

हेटौँडा–काठमाडौँ जोड्ने सिस्नेरी–दक्षिणकाली सडक पहिरोका कारण अवरुद्ध भएको छ । अविरल वर्षाका कारण पहिरो जाँदा हेटौँडा–काठमाडौँको वैकल्पिक मार्ग सिस्नेरी–दक्षिणकाली सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । 

प्रहरीका अनुसार ललितपुर क्षेत्रमा गएको पहिरोका कारण कान्ति लोकपथ अवरुद्ध भएको छ । मकवानपुर भिमफेदी गाउँपालिका वडा –८ प्रतापडाँडास्थित कान्ती लोकपथ सडक खण्डमा अविरल बर्षाको कारण सडक माथिबाट पहिरो आइ बाटो अवरुद्ध भएको छ । 

हेटौँडाबाट मातातीर्थ हुँदै काठमाडौँ प्रवेश गर्ने सडक पनि अवरुद्ध बनेको छ । इन्द्रसरोबर गाउँपालिका –५ महालक्ष्मी खोलानजिक मातातीर्थ चखेल र देउराली जाने सडक खण्डमा पहिरो गएर बाटो अवरुद्ध भएको हो ।  

वर्षाको कारण सडकखण्ड अन्तर्गत मकवानपुरको इन्द्रसरोवर –२ छेपारेमा बर्षाका कारण पहिरो खस्दा बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सडकमाथिबाट ठूलो पहिरो गएकाले तत्काल पहिरो पन्छाएर बाटो खुलाउन सकिने सम्भावना नरहेको जिल्ला प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लक्ष्मी भण्डारीले बताउनुभयो । 

उहाँका अनुसार बाटो सञ्चालन गर्न सडक डिभिजन कार्यालय मकवानपुर र इन्द्रसरोवर गाउँपालिकासँग समन्वय भइरहेको छ ।