• १९ असोज २०८१, शनिबार

सङ्घमा सत्ता परिवर्तनको प्रभाव प्रदेशमा

blog

राममणि दाहाल 

हेटौँडा, असार २२ गते  । सङ्घमा सत्ता समीकरणमा परिवर्तन भएसँगै प्रदेशमा पनि सत्ता परिवर्तन हुने व्रmमले यो पटक पनि निरन्तरता पाउने भएको छ । सङ्घमा पछिल्लो पटक भएको सत्ता खेलको प्रभाव बागमती प्रदेशमा समेत देखिएको छ । सङ्घमा यसअघिको सत्ता समीकरणमा परिवर्तन भएर दुई ठुला दल नेपाली कांग्रेस र नेकपा (एमाले) ले सत्ता साझेदारी गर्ने सहमति गरेसँगै बागमती प्रदेशमा पनि त्यसको प्रभाव पर्ने भएको हो ।

सङ्घको सत्ता समीकरण परिवर्तनले बागमती प्रदेशका नेकपा माओवादी केन्द्रका शालिकराम जम्कट्टेल नेतृत्वको सरकार सङ्कटमा परेको छ । कांग्रेस र एमालेले केन्द्रमा नयाँ समीकरण बनाउने निर्णय गरेसँगै बागमती प्रदेशमा कांग्रेस र एमाले औपचारिक र अनौपाचारिक छलफलमा जुटेका छन् । २०७९ मा भएको निर्वाचनपछि सङ्घीय सरकारमा जस्तै यस प्रदेशमा पनि तीन पटक विश्वासको मत लिएर जम्कट्टेल निरन्तर मुख्यमन्त्रीमा रहनुभएको छ ।

पहिलो पटक एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीसहित, एमाले र राप्रपा सत्ताबाट बाहिर गएपछि दोस्रो पटक कांग्रेस, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको र सङ्घको सत्ता समीकरण परिवर्तन भएर कांग्रेस सत्ताबाट बाहिरिएसँगै तेस्रो पटक पनि जम्कट्टेलले नै एमाले, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थनमा सरकारको नेतृत्व गर्दै आउनुभएको छ ।

२०७९ साल पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त जम्कट्टेलले यसअघि २०७९ माघ ३ गते, २०७९ चैत १० गते र गत चैत १९ गते प्रदेश सभाबाट विश्वासको मत लिनुभएको थियो ।

कांग्रेस र एमाले छलफलमा

बागमती प्रदेशमा यसअघि आमनेसामने हुँदै आएका कांग्रेस र एमाले अब सत्ता साझेदार बन्ने भएका छन् । नयाँ गठबन्धनका लागि कांग्रेस र एमालेले छलफल सुरु गरेको दुवै पार्टीका नेताले जनाएका छन् । कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले सङ्घमा नयाँ सत्ता समीकरण बनेसँगै प्रदेशमा त्यसको प्रभाव पर्नु स्वाभाविक भएको बताउँदै नयाँ गठबन्धन अनुसारको सरकार बन्ने जानकारी दिनुभयो । उहाँले नयाँ समीकरण अनुसार सरकार बनाउन एमालेसँग छलफल थालेको र कसरी जाने भन्नेबारेमा दुई दलबिच छलफल भइरहेको बताउनुभयो । यस्तै एमाले बागमती प्रदेश संसदीय दलका नेता एवं आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले सङ्घमा भएको सत्ता समीकरण परिवर्तन अनुसार यस प्रदेशमा पनि दुई दलबिच छलफल चलिरहेको बताउनुभयो । उहाँले केही दिनमा नै सरकारबाट राजीनामा र सरकारलाई दिएको समर्थन फिर्ता लिने बताउनुभयो । उहाँले भन्नुभयो, “मुख्यमन्त्री जम्कट्टेल प्रदेश राजधानीमा नहुनु भएकाले रोकिएका हौँ, उहाँ आएपछि सङ्घमा भएको समीकरण परिवर्तन अनुसार नयाँ गठबन्धनले आवश्यक काम थाल्ने छ ।”

यस प्रदेशमा सबैभन्दा ठुलो दल कांग्रेस र त्यसपछिको एमाले मिल्दा सरकार गठनका लागि आवश्यक बहुमत रहेको छ ।

११० जना प्रदेश सभा सदस्य रहेको यस प्रदेशमा सरकार बनाउन ५६ जना प्रदेश सभा सदस्य आवश्यक हुन्छ । प्रदेश सभामा कांग्रेसको ३७ र एमालेको २७ गरी ६४ जना प्रदेश सभा सदस्य छन् जुन सरकार निर्माणका लागि सुविधाजनक बहुमत हो । माओवादी केन्द्रको २१, राप्रपाको १३, एकीकृत समाजवादीको सात, नेपाल मजदुर किसान पार्टीको तीन र हाम्रो नेपाली पार्टीका दुई जना प्रदेश सभा सदस्य छन् ।  जम्कट्टेल नेतृत्वको १३ सदस्य मन्त्रीपरिषद्मा माओवादी केन्द्रका मुख्यमन्त्रीसहित चार जना, एमालेका पाँच जना, एकीकृत समाजवादीका तीन जना र हाम्रो नेपाली पार्टीका एक जना मन्त्री रहेका छन् ।