• २४ असार २०८१, सोमबार

अपाङ्गतामैत्री कार्यालय नहुँदा सेवाग्राही मर्कामा

blog

अपाङ्गतामैत्री नभएका सरकारी कार्यालय । तस्बिरः राजन रावत

राजन रावत

हुम्ला, असार २१ गते । जिल्लास्थित सरकारी कार्यालय अपाङगतमैत्री नभएपछि सेवाग्राही मर्कामा परेका छन् । कार्यालय भवन निर्माण गरिँदा र भाडामा कार्यालय लिन त्यसलाई ख्याल नगरिएका कारण अपाङ्गता भएका सेवाग्राहीलाई सेवा लिन असहज भएको हो । 

सिमकोट गाउँपालिका –५ का धनलाल कामीले जिल्लाका कुनै पनि सरकारी कार्यालय अपाङ्गतामैत्री नभएको कारण आफूजस्तालाई सेवा लिन समस्या भएको बताउनुभयो । उहाँले बैशाखीको भरमा हिंडडुल गर्दै आउनुभएको छ । उहाँले गाउँपालिकामा एउटा सिफारिस लिन माथिल्लो तलामा रहेको कार्यालय प्रमुखको कार्य कक्षमा जान भर्‍य ाङ चढ्न नसकेपछि आफ्नो निवेदन अर्कै मानिससँग पठाएर सेवा लिनुपरेको बताउनुभयो । 

उहाँले तालिम गोष्ठीमा अपाङ्गता मैत्रीका कुरा उठाए पनि कार्यालयमा अपाङ्ग ब्यक्ति जानका लागि सहज वातावरण बनाउन नसक्नु आफैमा त्यो कुरामा मात्र सीमित भएको गुनासो सुनाउनुभयो । अर्का अपाङ्गता भएका ब्यक्ति झुल शाहीले एक त सिमकोट आउँदै कठिन, आइसकेपछि झन त्यसमाथि कार्यालय अपाङ्गतामैत्री नभएको कारण आफूलाई सेवा लिन असजिलो हुनेगरेको बताउनुभयो ।

 सेवाग्राहीलाई सास्ती दिएर प्रदान गरिएको सेवा न्यायसङ्गत नभएका कारण अब प्रत्येक कार्यालयलाई प्रदान गरिने सेवाहरु सेवाग्राहीले सहज रुपमा पाउने ब्यवस्था गर्न उहाँले माग गर्नुभयोे । अपाङ्गा सेवाग्राहीका लागि गाउँ–गाउँमा पुगेर सेवा दिनुपर्ने बेला कार्यालयमा जाँदा पनि सहज किसिमले सेवा पाउने संरचना निर्माण नगरिनु दुःखको कुरा भएको बताउनुभयो । 

सामाजिक विकास कार्यालयका प्रमुख हर्कबहादुर बस्नेतले आफ्नो कार्यालय भाडामा सञ्चालन हुँदैआएको र अपाङ्गमैत्री बनाउन नसकिएको स्वीकार गर्नुभयो । नियमित वास्तवमै कार्यालयहरु अपाङ्गतामैत्री हुनुपर्ने भए पनि त्यो हुन नसक्नु दुःखको कुरा भएको बताउँदै यसमा उहाँले सबै सेवा प्रदायक निकायले ध्यान दिन जरुरी रहेको बताउनुभयो । 

अझ उहाँले आफ्नोजस्तै दैनिक बढी सेवाग्राहीलाई सेवा दिने कार्यालयले यसमा ध्यान दिन आवश्यक रहेको जानकारी दिनुभयो । जिल्लामा ३४ वटा सरकारी कार्यालय रहेको र ती कुनै पनि कार्यालय अपाङ्गमैत्री छैनन् ।