• २४ असार २०८१, सोमबार

सामुदायिक विद्यालयलाई फर्निचर र कम्प्युटर वितरण

blog

लहान –८ स्थित श्री सिधार्थ आधारभूत विद्यालयका प्रधानाध्यापक सुधा चौधरीलाई नगरप्रमुख महेश प्रसाद चौधरीले कम्प्युट हस्तान्तरण गर्नुहुँदै । तस्बिरः जीवछ यादव

जीवछ यादव
लहान, असार २१ गते ।
लहान नगरपालिका शिक्षा शाखाले सामुदायिक विद्यालयहरुमा फर्निचर र कम्प्युटर वितरण गरेको छ । अघिअघि भौतिक पूर्वाधारको आपूर्ति र पछिपछि शैक्षिक सुधार कार्यक्रमलाई अघि बढाएको हो ।

यस वर्ष ३३० डेक्स बेन्च र ३६सेट कम्प्युटर सेट र प्रिन्टर वितरण गरिएको शिक्षा शाखाका प्राविधिक अमिरीकुमार यादवले बताउनुभएको छ । उहाँको अनुसार सामुदायिक विद्यालयहरुमो देखिएको अभाव पूरा गर्नुको साथै सघन अनुगमन गरेर विद्यालयको शैक्षिक सुधार कार्यक्रमलाई प्राथमिकतामा राखिएको हो ।

लहान–२३ स्थित सहिद रमेश महतो आधारभूत विद्यालय र सरस्वती अधारभूत विद्यालय लगायतका विद्यालयहरुमा अपुग रहेको डेक्स बेन्च र नियमित कार्यालयको कार्य सम्पादनको लागि प्रिन्टरसहितको कम्प्युटर दिएको उहाँले जानकारी दिनुभयो ।

विद्यालयलाई अपुग डेक्स बेन्च र कार्यालय सञ्चालनका लागि कम्प्युटर सेट उपलब्ध गराएपछि ठुलो राहत मिलेको सहिद रमेश महतो आधारभूत विद्यालयका प्रधानाध्यापक उपेन्द्र महतोले बताउनुभयो । उहाँले थप्नुभयो, ‘‘नियमित अनुगमनमा विद्यालयमा अनुगमन टोली आउने समयमा विद्यालयमा के के अभाव रहेको टिपेर लगे अनुसार आज डेक्स बेन्च र कम्पयुटर पाउँदा  खुसी भएका छौं । लहान नगरपालिका शिक्षा शाखा एक जिम्मेवार अभिभावकको रुपमा काम गरिरहेको पाएका छौं ।’’

एक विद्यालय एक कम्प्युटर प्रयोगशाला, एक कक्षा एक शिक्षक र प्रति कक्षा पङ्खा कार्यलाई पूरा गर्न लहान नगरपालिकाले गत आर्थिक वर्षमा ६ करोड र यस आर्थिक वर्षमा आठ करोड वितरण गरिएको शिक्षा संयोजक स्वयम आफैं रहनुभएको लहान नगरप्रमुख महेशप्रसाद चौधरीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘शिक्षाको विकासलाई प्राथमिकतामा राखिएको छ । एकविद्यालय एक शिक्षक कार्यक्रमअन्तर्गत १२५ जना स्वयम सेवक शिक्षक भर्ना गरिएको छ । यस वर्ष लगानी अनुसारको सामुदायिक विद्यालयहरुमा पनि एसइइको सन्तोषजनक परिणाम आएको छ । नाम चलेका पुरानो शैक्षिक इतिहास बोकेको पशुपति आदर्श माध्यमिक विद्यालय र बस्तीपुर माध्यमिक विद्यालय बस्तीपुरको शैक्षिक सुधारको लागि प्रयत्नशील रहेका छौं ।’’

विद्यालयहरुमा फर्निचर कम्प्युटर, विद्यालयको पर्खाल निर्माण र कक्षाकोठा निर्माण कार्यमा लहान नगरपालिका शिक्षा शाखाले गरेको लगानीबाट सामुदायिक विद्यालयको विकासले गति लिएको नेपाल शिक्षक सङ्घ लहानका अध्यक्ष नारायण साहले बताउनुभयो ।

लहान नगरपालिका शिक्षा शाखाले भौतिक निर्माणमा गरेको लगानी साकारात्क पक्ष भए पनि ग्रामीण भेगबाट बसमा संस्थागत विद्यालयहरुले शहरमा ओसार्ने कार्यलाई रोक्न कुनै कार्यक्रम ल्याउनुपर्ने लहान २० का जितेन्द्र कुमार साहले बताउनुभयो ।

उहाँको अनुसार भौतिक पक्ष शिक्षक सबैथोक भएपनि पढ्ने विद्यार्थी नै नभएपछि यसको के महत्त्व हुनेछ । कक्षा एकदेखि पाँच कक्षासम्म शिक्षक दरबन्दी र कक्षा कोठा जति प्रर्याप्त भए पनि भर्ना कम हुने गरेको समस्या देखिएको छ ।