गजेन्द्र गुरुङ
खजुरा, असार २१ गते । ३५ वर्षीय दयाराम अधिकारी बाँकेको कोहलपुर नगरपालिका –११ न्यूरोडस्थित अरुण टेलर्सको मालिक हुनुहुन्छ । उहाँको शरीरको कम्मरभन्दा मुनिको भाग चल्दैन । ह्विलचियरको साहाराले उहाँ हिँडडुल गर्नुहुन्छ ।
२०४६ सालमा सुर्खेतको गुर्भाकोट –२, मालारानीमा जन्मनुभएका दयाराम निम्न वर्गीय परिवारको हुनुहुन्थ्यो । घरमा जेठो सन्तान भएका कारण परिवारको जिम्मेवारी उहाँमाथि थियो । घरको आर्थिक अवस्था कमजोर भएको र घरपरिवारको आवश्यकता पूरा गर्न तथा आफ्नो जिम्मेवारी निर्वाह गर्न उहाँ रोजगारीका लागि भारतको हिमाञ्चल प्रदेशको सिम्लामा पुग्नुभयो ।
भारतमा उहाँले दैनिक ज्यालादारीमा काम गर्न सुरु गर्नुभयो । काम गर्नेक्रममा २०६६ वैशाख १७ गतेका दिन उहाँ दुर्घटनामा पर्नुभयो । दुर्घटनामा परी उहाँको मेरुदण्ड भाँचियो । मेरुदण्ड भाँचिएपछि नेपाल फर्किनुभयो । उपचार सुरु गर्नुभयो । उपचार पश्चात् निको त हुनुभयो, तर कम्मरभन्दा मुनिको भाग चलेन ।
उहाँको परिवार २०६७ सालमा सुर्खेतबाट बसाइ सरेर कोहलपुर –१२ चप्परगौडीमा आयो । कोहलपुर बसाइ सरेपछि उहाँले जीवनयापनका लागि धेरै दुःख कष्ट गरेको बताउनुहुन्छ । “एकतमासले चलिरहेको जीवनमा एक्कासी नसोंचेको दुर्घटना हुँदा कम्मरभन्दा मुनिको भाग नचल्ने भयो, जीवनमा ह्विलचियरको साहारा चाहिने भयो, घरपरिवारको जिम्मेवारी त छँदैछ, कसरी पूरा गर्ने भन्ने ठूलो चिन्ता सुरु भयो” उहाँले भन्नुभयो ।
“सुरु–सुरुमा ह्विलचियरमै भारतको रुपैडिहासम्म पुगेर सामान केयरिङ गर्न थालेँ, घरमा आवश्यक पर्ने दैनिक उपभोग्य सामान ल्याउँथे, कोहलपुरका होलसेल पसलमा लगेर बिक्री गर्थेँ, धेरै लामो समयसम्म यो काम गर्न सकिनँ गाह्रो भयो” दयारामले भन्नुभयो, “केही समयपछि यो काम गर्न छाडेँ र कोहलपुर चौराहास्थित पिपलचौतारामा ठेला राखेर फलफूल बिक्री गर्न सुरु गरेँ ।”
“सात हजार रुपियाँमा ठेला खरिद गरेर फलफूल व्यवसाय सुरु गरेँ, श्रीमतीले ठेला त्यहाँसम्म लग्ने काममा सहयोग गर्थिन, म ह्विलचियरमा जान्थेँ । दिनभर बसेर व्यापार गर्थेँ” उहाँले भन्नुभयो, “कर्णाली प्रदेशतिर जाने सबै गाडीहरु त्यहाँ लाग्थे, व्यापार राम्रै थियो, दैनिक दुई हजार बढीको आम्दानी हुन्थ्यो, पछि त्यहाँबाट छुट्ने गाडीहरु हटाइए र व्यापार हुन छाड्यो । छ महिनापछि व्यापार छाडेर ठेला बिक्री गरेँ ।”
“एकदिन म जस्तै शारिरीक अशक्त हुनुभएका ह्विल चियरकै साहारा लिनुभएका थम्मन चौधरीसँग चिनाजानी भयो, उहाँले एउटा टेलरिङ पसलमा सिलाई कटाईको काम गर्नु हुँदोरहेछ । मलाई पनि यही काम गरौँ भन्नुभयो, आश्चर्य लाग्यो । हामीजस्तो शारीरिक अशक्त भएकाहरुले कसरी टेलरिङ काम गर्न सक्छौँ भनेर । म उहाँसँग गएँ” दयाले सुनाउनुभयो, “उहाँले काम गर्ने पसलमा गएर आफूले कपडा सिलाएर देखाउनुभयो, मलाई मनमा रहर जाग्यो ।”
अपाङ्गताको क्षेत्रमा काम गर्ने संस्था अपाङ्ग नवजीवन केन्द्रले प्रदान गरेको परिलक्षित कार्यक्रममार्फत् ६ महिने सिलाइकटाइ तालिम दियो । तालिमपश्चात् केन्द्रले एउटा मेसिन उपलब्ध गरायो । त्यसपछि दयाको जीवनले मोड बदलियो ।
दयाले भन्नुभयो, “घर व्यवहारले च्याँप्दै लग्यो, हातमा सीप पनि भयो, मनोवल पनि उच्च भयो, काम गर्न सक्छु भन्ने आत्मविश्वास पलायो, सधैँ अरुकोमा बसेर काम गर्नुभन्दा आफैले केही गर्नुपर्छ भन्ने लाग्यो र आफै पसल खोल्ने योजना बनाएँ ।”
चप्परगौडीमै एउटा सटर भाडामा लिएर पसल सुरु गरेको उहाँ बताउनुहुन्छ । “चप्परगौडीमै एउटा सटर भाडामा लिएँ, मेसिन त आफैसँग थियो, त्यही एउटा मेसिन, एउटा फिता र एउटा कैंचीबाट व्यवसाय सुरु गरेँ” दयाले भन्नुभयो, “कमाई राम्रै हुँदै गयो, स्थानीयले पनि हौसला प्रदान गर्नुभयो, त्यहीँ आफै कपडा पसल पनि गरेँ सिलाइको काम पनि गरेँ, दुई वर्षजति त्यहाँ गरेपछि कोहलपुरको व्यस्त बजार न्यूरोडमा सटर लिएर व्यवसाय गर्दैआएको छु ।”
२०७४ सालबाट न्यूरोडमा अरुण टेलर्स सञ्चालन गर्नुभएका दयारामसँग अहिले आफ्नै ठूलो कपडा पसलका साथै सातवटा ठूला कपडा सिलाउने जुकी मेसिनसमेत छन् । कुनैसमय आफै रोजगारी खोज्दै भौंतारिनुभएका उहाँले अहिले आठ जनालाई प्रत्यक्ष रोजगारी दिनुभएको छ ।
समाजबाट अझै पनि शारीरिक अशक्त भएका व्यक्तिलाई हेर्ने दृष्टिकोणमा परिवर्तन नआउँदा भने उहाँ चिन्तित हुनुहुन्छ । “समाजबाट मात्र नभएर घरपरिवारबाट पनि शारीरिक अशक्त भएकालाई हेर्ने दृष्टिकोण बदलिएको छैन, विभेद छ । केही मात्रामा परिवर्तन भए पनि व्यक्तिको आफ्नो चरित्रअनुसार विभेद गर्ने प्रचलन अझै गएको छैन” उहाँले भन्नुभयो ।
अपाङ्गता भएका व्यक्तिले आर्थिकरुपमा कमाई गर्न लागेमा मात्र घरपरिवार तथा समाजले राम्रो दृष्टिकोणले हेर्ने गरेको, सम्मान गर्ने गरेको अन्यथा विभेद गर्ने गरेको अनुभव आफूसँग भएको उहाँको भनाइ छ ।