• २४ असार २०८१, सोमबार

बँधिया भाले पाल्ने किसानलाई अनुदान

blog

राप्ती गाउँपालिकामा किसानले पालिका बँधिया भाले । तस्विरः लीलाधर वली

लीलाधर वली

घोराही, असार २१ गते । दाङको राप्ती गाउँपालिकाले बँधिया (बन्ध्याकरण) गरिएको भाले पाल्ने किसानलाई अनुदान दिन थालेको छ । गाउँपालिकाले साना किसानलाई हौसला बढाउन पहिलो पटक बँधिया भाले पाल्ने किसानलाई बार्षिक रुपमा प्रतिभाले एकसय रुपियाँका दरले अनुदान उपलब्ध गराउन थालेको हो । 

गाउँपालिकाले बँधिया भाले पाल्ने किसानलाई अनुदान दिनका लागि चालु आर्थिक वर्षमा एक लाख रूपियाँ बजेट छुट्याएको र सोहीमार्फत १२ जना किसानले कुल तीनसय बँधिया भालेका लागि अनुदान प्राप्त गरेको गाउँपालिकाको पशुसेवा शाखाका प्रमुख दामोदर आचार्यको भनाइ छ । 

उहाँका अनुसार अनुदान प्राप्त गर्नका लागि किसानले न्यूनतम पाँच वटा बँधिया भाले पालेको हुनुपर्नेछ । गाउँपालिकाको पशुसेवा शाखाका प्रमुख आचार्यका अनुसार ‘साना किसान प्रवर्धन कार्यक्रम’ अन्तर्गत प्रोत्साहनका लागि थोरै भए पनि अनुदान दिन थालिएको बताउनुभयो । 

यसबाट किसानहरू लाभान्वितसँगै उत्साहित हुँदा अरु पनि किसान पनि आकर्षित होउन् भन्ने हो । गाउँपालिकाले अनुदान दिनका लागि सूचना निकालेर विवरण सङ्कलन गरेको र सोहीआधारमा किसानलाई रकम उपलब्ध गराएको समेत शाखा प्रमुख आचार्यको भनाइ छ ।  

अनुदान प्राप्त गर्दा खुसी लागेको राप्ती गाउँपालिका –४ मौरीघाट निवासी किसान सुशीला महराले बताउनुभयो । गाउँपालिकाले बँधिया भाले पाल्नेलाई अनुदान दिन थालेकोमा निकै खुसी लागेको भन्दै उहाँले भन्नुभयो, ‘ठुलो लगानी गरेर व्यवसाय गरेका व्यवसायीलाई मात्र होइन, सानो लगानीमा व्यवसाय सुरु गरेका किसानलाई पनि पालिकाले हेर्न आवश्यक छ ।’ 

गाउँपालिकाले साना किसानको हितमा काम गरेकाले यसले अन्य किसानलाई पनि बँधिया भाले पाल्न उत्साहित गराउने बताउनुहुन्छ । २५ वटा बँधिया पाल्नुभएकी सुशीलाले पालिकाबाट दुई हजार ५०० रूपियाँ अनुदान प्राप्त गरेको बताउनुभयो । 

बँधिया बनाएको भाले आठ–दश महिनामा बेच्नका लागि तयार हुने र बँधिया भाले तीन हजारदेखि चार हजार रूपियाँसम्म बिक्री हुने गरेको बताउनुहन्छ । गाउँपालिकाले बँधिया भालेसँगै दुध उत्पादन गर्ने किसानलाई पनि हरेक वर्ष अनुदान प्रदान गर्दैआएको पशुसेवा शाखा प्रमुख आचार्य बताउनुहुन्छ । 

शाखा प्रमुख आचार्यका अनुसार यस वर्षको अनुदान किसानले माग गरेका आधारमा दिने र अर्को वर्षदेखि र किसानको घरमै पुगेर विवरण संकलन गर्ने योजना छ ।

गाउँपालिकाले दुध उत्पादक किसानलाई एक वर्षमा एकसय ५६ जना किसानलाई १२ लाख रूपियाँ उपलव्ध गराएको छ । गाउँपालिकामा एक वर्षमा तीन लाख लिटर दुध उत्पादन हुने गर्दछ । अनुदान पाउन किसनाले वडा कार्यालयमा विवरण बुझाएपछि सोही विवरणको आधारमा किसानको खातामा मासिक रूपमा पैसा जम्मा हुन्छ । 

त्यसका लागि समय–समयमा गाउँपालिका कार्यालयले दुध उत्पादनको अनुगमन र दुधको गुणस्तर परीक्षण गर्ने गरेको पशुसेवा शाखा प्रमुख आचार्य बताउनुहुन्छ । साना किसानलाई प्रोत्साहनका लागि गाउँपालिकाले दुध उत्पादन गर्ने, बँधिया भाले पाल्ने, तरकारी उत्पादन गर्ने किसानलाई समेत अनुदान दिँदैआएको छ ।