• १२ पुस २०८१, शुक्रबार

पर्यटक आगमनमा झन्डै तेइस प्रतिशतको बढोत्तरी

blog

काठमाडौँ, असार २१ गते । सन् २०२३ को छ महिनाको तुलनामा यो वर्ष पर्यटक आगमन झन्डै २३ प्रतिशतले बढेको छ । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२४ को छ महिनामा पाँच लाख ८३ हजार १६ जना पर्यटक नेपाल भित्रिएका थिए ।

बोर्डको निर्देशक मणिराज लामिछानेले भन्नुभयो, “सन् २०२४ को छ महिनामा चार लाख ७६ हजार ४८१ पर्यटक नेपाल घुम्न आएका छन् । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो वर्षको छ महिनाको तथ्याङ्क हेर्दा एक लाख छ हजारको हाराहारीमा पर्यटक बढेका देखिन्छन् ।”

उहाँका अनुसार सन् २०१९ को तुलनामा यो वर्ष दुई प्रतिशतले पर्यटक आगमन बढेको छ । सन् २०१९ को जुन महिनामा ७४ हजार ८८३ जना विदेशी पर्यटक नेपाल आएकामा यो वर्षको सोही अवधिमा ७६ हजार ७३६ पर्यटक नेपाल आएका छन् । निर्देशक लामिछानेले पछिल्लो समय पर्यटक आगमन दर बढ्दै गइरहे पनि आगामी आव २०८२/८३ मा १६ लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य पूरा हुन सन् २०१९ को तुलनमा ३३ प्रतिशतले पर्यटक भित्रिनुपर्ने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सरकारले लिएको लक्ष्य प्राप्तिका लागि विदेशमा आक्रामक प्रवर्धनका कार्यक्रम अघि बढाउँदै चीन र भारतमा समेत बोर्डको शाखा खोलेर नेपाल प्रवर्धनका काम बढाउन आवश्यक छ ।”

त्यस्तै गरी महँगो हवाई शुल्क, टिकट समयमै नपाउने र पाए पनि महँगो हुँदा पर्यटकले अन्यत्रका गन्तव्य रोज्ने गरेको बताउँदै उहाँले पर्यटक नेपालबाट फर्किंदा कर छुटको सुविधा लिन विदेशी ट्राभल एजेन्सीमार्फत टिकट लिन थालेपछि नेपाली मुद्रा विदेश गइरहेको जनाउनुभयो ।

बोर्डका अनुसार सन् २०२३ को जुन महिनामा ७२ हजार २५० पर्यटक नेपाल आएकामा यो वर्ष गत वर्षको तुलनामा ६.२१ प्रतिशतले पर्यटक आगमन बढेको छ । 

नेपाल आउने पर्यटकमध्ये भारतीय पर्यटक बढी छन् । सामान्यतया भारतबाट नेपाल घुम्न आउने पर्यटक गर्मी छल्न आउने भए पनि यस वर्ष जाडोको महिनामा पनि नेपालमा प्रशस्तै भारतीय पर्यटक आएका कारण वृद्धि भएको हो । भारतबाट जुनमा ३७ हजार ८३५ पर्यटक नेपाल भित्रिएका छन् । यस्तै दोस्रोमा अमेरिकाबाट आठ हजार २८१, चीनबाट सात हजार ४९४ जना पर्यटक नेपाल भित्रिएका छन् । नेपाल आउने चिनियाँ पर्यटकको सङ्ख्या विगतमा निकै ठुलो रहे पनि कोभिडपश्चात् त्यो सङ्ख्या बढ्न सकेको छैन । 

बङ्गलादेशबाट तीन हजार ८५७, बेलायतबाट एक हजार ९६९, अस्ट्रेलियाबाट एक हजार ५८९, भुटानबाट एक हजार ६६, मलेसियाबाट एक हजार १४, जापानबाट ९५३ र दक्षिण कोरियाबाट ८७५ जना भित्रिएको पर्यटन बोर्डले जनाएको छ ।